Kathmandu Press

उत्तराखण्ड बाढीमा अझै १९७ जना बेपत्ता

उत्तराखण्ड बाढीमा अझै १९७ जना बेपत्ता

नयाँदिल्ली, माघ २७ : भारत उत्तराखण्डमा हिम पहिरोपछि आएको बाढीमा परी अझै एक सय ९७ जना बेपत्ता छन्। हालसम्म २० जनाको शव फेला परेको भारतका गृहमन्त्री अमित शाहले मंगलबार संसद्लाई जानकारी दिएका छन्।

उनका अनुसार इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी)का चार सय ५० जवान, एनडीआरएफका पाँच टोली, भारतीय स्थल र वायु सेनामा आठ टोली तथा पाँचवटा हेलिकप्टर उद्धारमा जुटेका छन्।

उत्तराखण्डको चमोलीमा गत आइतबार हिम पहिरोपछि आएको बाढीले जनधनको ठूलो क्षति गरेको हो। हिम पहिरो र बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीलाई चौबीसै घण्टा परिचालन गरिएको मन्त्री शाहले सदनलाई जानकारी दिए।

उनका अनुसार स्थानीय धौलीगंगा नदीमा निर्माणाधीन जनविद्युत परियोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ। 

भूउपग्रहको तथ्यांक प्रस्तुत गर्दै मन्त्री शाहले समुद्री सतहबाट पाँच हजार ६ सय मिटर उचाइस्थित हिमतालको मुहानबाट हिम पहिरो सुरु भएको जानकारी दिए। र, सोही कारण तल्लो तटीय क्षेत्रमा बाढी आएको हो।

हालसम्म बेपत्ता भएकामध्ये निर्माणाधीन जलविद्युत परियोजनाका एक सय ३९ कामदार र अन्य स्थानीय बासिन्दा रहेको शाहले जानकारी दिए। बाढीमा परी ११ जना नेपाली नागरिक पनि बेपत्ता छन्।

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्