भागरथीका परिवारले शव बुझ्न मानेनन्
बैतडी, माघ २६ : किशोरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्। पोस्टमार्टम भएको तीन दिन बितिसक्दा...
बैतडी, माघ २६ : किशोरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्। पोस्टमार्टम भएको तीन दिन बितिसक्दा पनि अन्तिम संस्कार हुन सकेको छैन।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको माघ २२ गते साँझ शव भेटिएको थियो। प्रहरीको अनुसन्धानमा बलात्कारपछि हत्या गरिएको देखिएको छ। शवको प्रकृति र पोस्टमार्टम रिपोर्ट अध्ययनपछि बलात्कारपछि हत्या गरिएको निष्कर्ष निस्केको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा शव भेटिएको थियो। शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको पाइएको डिएसपी अधिकारीले बताए।
बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ। घटना भएको दिन उक्त बाटो भएर हिँडडुल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने व्यक्ति र शंका लागेका व्यक्तिलाई सोधपुछको काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए।
भागरथीका आफन्तसँग सोधपुछ गर्नाका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन भइरहेको उनले बताए। उनका अनुसार शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने काम भइरहेको छ भने यसमा स्थानीय बासिन्दाको पनि सहयोग लिन थाएिको छ।
यस्तै किशोरीको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ। शव परीक्षण भएको तीन दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन्। हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए।
घटनालाई गम्भीर रुपमा लिइएकाले सम्पूर्ण शक्ति परिचालन गरी भागरथीको हत्यारा पत्ता लगाउन प्रहरीको सङ्घीय, प्रदेश, अनुसन्धान ब्युरो, जिल्लाको सम्पूर्ण शक्ति परिचालन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। विभिन्न कोणबाट अध्ययन र अनुसन्धान भइरहको उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ। त्यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ।
यसैबीच भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारवाही गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।
बैतडीका स्थानीयले आज भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरेर ज्ञापनपत्र बुझाएका हुन् । घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका माधव विष्टले बताए।











