Kathmandu Press

भारतमा गएको हिमपहिरोमा परी १८ जनाको मृत्यु, २०० बेपत्ता

ऋषिकेश, माघ २६ : भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ। जसमा परी २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले...
भारतमा गएको हिमपहिरोमा परी १८ जनाको मृत्यु, २०० बेपत्ता

ऋषिकेश, माघ २६ : भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ। जसमा परी २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन्। 

आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ। 

स्थानीय ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए। 

Hardik ivf

उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ। मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए।

बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए। विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ। 

‘यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,’ मुख्यमन्त्री रावतले भने।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए। उनले भने, ‘झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ। अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ।’

धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन्। राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन्।

सामाजिक संजालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरु पोस्ट गरेका छन्। साँघुरो उपत्यकाबाट तीब्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरु देखिएका छन्।

विद्युतगृहको सुरुङ (टनेल) भित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरु सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गरे। ‘हामी सबै दौडियौं तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो। हामीलाई बाहिर निस्कन सकौंला भन्ने लागेकै थिएन।’

भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन्। तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन्।
सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो। उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो। 

वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युतगृह निर्माणले झन समस्या निम्त्याएको बताए।

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, माघ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्