प्रतिनिधिसभा विघटन मुद्दा : अधिवक्ताले बहस लम्ब्याउँदा प्रधानन्यायाधीशलाई छटपटी
२६ माघ, काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले बहसका लागि तोकिएको समय पालना नगर्दा प्रधानन्यायाधीशलाई छटपटी भएको छ ।...
२६ माघ, काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले बहसका लागि तोकिएको समय पालना नगर्दा प्रधानन्यायाधीशलाई छटपटी भएको छ । अधिवक्ताले बहसका लागि १५ मिनेटभन्दा बढी समय लिन थालेपछि माघ मसान्तमा बहस सकेर फागुनको पहिलो हप्तामै फैसला गर्ने तयारीमा रहेका प्रधानन्यायाधीशलाई छटपटी भएको हो ।
प्रधानन्यायाधीश जबरामा रहेको छटपटी आजको इजलासमा पनि देखियो । आज सरकारका पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरे । बहसका क्रममा उनले ३१ मिनेट लिए । त्यसपछि प्रधानन्यायाधीश जबराले भट्टराईलाई भने, ‘१५ मिनेट भनेको धेरै बोल्नुभयो, अब बहस नगर्नुहोस्, छोडिदिनुहोस् न प्लिज । बाँकी बहस नोटमा दिनुहोला ।’
तर पनि अधिवक्ता भट्टराईले बहस अगाडि बढाए । यसपछि प्रधानन्यायाधीश जबरा रिसाए । उनले भने, ‘तपाईहरु भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?’
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी वकिलका तर्फबाट सर्वोच्चमा बहस जारी छ । एकै अधिवक्ताले लामो समय लिने गरेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि समयसीमा तोकिदिएका छन् । गत आइतबार इजलासकै क्रममा प्रधानन्यायाधीश जबराले माघ ३० गतेभित्र बहस सक्नुपर्ने धारणासमेत राखेका थिए ।











