Kathmandu Press

स्पेनमा नेपाली बालबालिकालाई भाषा–संस्कृति सिकाउने गुरुआमा

स्पेनमा नेपाली पाठशाला सञ्चालन गर्नुको उद्देश्य नै नेपाली बालबालिकालाई नेपाली भाषासँगै नेपाली संस्कृति, संस्कार, परम्परा, चाडपर्व लगायत कुराको ज्ञान दिनु हो।
स्पेनमा नेपाली बालबालिकालाई भाषा–संस्कृति सिकाउने गुरुआमा

काठमाडाैं, माघ २६ :  ‘के छ खबर ?’

‘अहिले त स्पेनमा पुनः कोभिड बढेको छ । यहाँ मैले भर्खरै नेपाली बालबालिकालाई नेपाली भाषा–संस्कृति पढाउन सुरु गरेकी थिएँ, तत्कालका लागि रोकिएको छ ।’

फेसबुक म्यासेन्जरमा कुरा हुँदा स्पेनमा बस्ने ३९ वर्षीया नितु शाक्यको जवाफ थियो यो । 

Hardik ivf

उनको जवाफमा एउटा सानो कथा लुकेको आभास भयो, पत्रकारिताले यस्तै कथा खोज्छ । विदेशमा हुर्केका नेपाली बालबालिकाको अधिकार पनि हो, आफ्नो भाषा–संस्कृति र पृष्ठभूमिबारे जानकारी पाउनु । 

मान्छेको पहिचान भनेकै आफ्नो वेशभूषा र संस्कृति हो । मानिसको जीवनको लय संस्कृतिमा हुन्छ । ऊ संस्कृतिसँगै हुर्कन्छ, बढ्छ र बाँच्छ । हाम्रो नेपाली समाजमा अधिकांश जाति, समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार छन् । त्यसमाथि राष्ट्रिय चाडपर्व र संस्कृति पनि छन् । 

पछिल्लो समय कतिपय नेपाली अध्ययन, पेसा र रोजगारीका सिलसिला विदेशी भूमिमा पुगेका छन् । तीमध्ये कतिपय उतै परिवारसँग बसेका छन् । उनीहरुका साना बच्चाले नेपाली भाषा–संस्कृति भुल्ने अवस्था छ । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीले संघ–संस्था स्थापना गरी नेपाली भाषा–संस्कृतिको जर्गेनामा लागेको पनि सुन्नमा आउँछ ।  

यही परिप्रेक्ष्यमा ललितपुर पाटनकी नितु शाक्य अहिले स्पेनको बेनिडोर्म सहरमा बस्ने नेपालीका छोराछोरीलाई नेपाली भाषा पढाएकी हुन् । उनी स्पेन पुग्नु र त्यहाँ पनि शिक्षण पेसा अपनाउनुको अलिकति पृष्ठभूमि छ ।  

उनले सन् २००० देखि जावलाखेलस्थित डिएभी स्कुलमा पढाउँथिन् । उनका श्रीमान गोपाल महर्जन नेपालमा टेबुल टेनिस खेलाडी थिए, खेलबाट जीवनयापनमा सहज नभएपछि उनी रोजगारीका लागि स्पेन गएका थिए । श्रीमान् विदेशमा भएपछि नितु पनि सन् २००७ मा स्पेन गएकी थिइन्, उतै बस्ने व्यवस्था मिल्यो । 

स्पेनमा बस्दा पनि उनलाई शिक्षण पेसाले पछ्याइरहेको छ । सायद सीपले मानिसलाई खालि बस्न दिँदैन । 

स्पेनमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, संस्कृति र परम्परा भुल्न नदिन ‘नेपाली पाठशाला’ नामक निःशुल्क कार्यक्रम सञ्चालनमा ल्याइएको छ । त्यहाँ रहेका नेपालीको समूह ‘नेपाल–स्पेन समाज कोस्टाब्लान्का’ले यो कार्यक्रम आयोजना गरेको हो । २०७७ पुस ८ गतेबाट सञ्चालन गरिएको यस कार्यक्रममा स्पेनमा जन्मिएर त्यहीँ हुर्केका बच्चालाई नेपाली भाषा सिकाइन्छ । 

नितुले फेसबुक म्यासेन्जर कलमा भनिन्, ‘यहाँ रहेका नेपाली बच्चालाई केही हदसम्म नेपाली बोल्न आउँछ, नेपाली अक्षर भने चिनेका छैनन् । नेपालीको बच्चाले कम्तीमा नेपाली भाषा जान्नुपर्छ भनेर हामीले हप्ताको एक दिन नेपाली भाषाको कक्षा सञ्चालन गर्दै आएका छौँ ।’ 

उनका अनुसार, त्यहाँ बस्ने नेपाली बच्चाले स्पेनकै भाषा वा अंग्रेजी भाषा मात्र जानेको हुँदा सुरुमा उनीहरूलाई अ, आ, इ, ई सिकाउन गाह्रो भएको थियो । अहिले भने बालबालिकाले राम्ररी लेख्नुका साथै पढ्नमा पनि रुचि दिन थालेका छन् । नेपाली पाठशालामा ४ देखि १६ वर्ष उमेर सम्मका करिब २५ शिक्षार्थी छन् । ‘तत्कालका लागि टाउनहल लाइब्रेरीमा नेपाली पाठशालाको कक्षा सञ्चालन गर्दै आएका छौँ,’ नितुले भनिन्, ‘बिस्तारै बच्चाहरू बढेको खण्डमा आफ्नै भवन बनाई स्कुलको रुपमा यसलाई लैजाने सोचमा छौँ ।

शिक्षिका नितु शाक्य

उनका अनुसार, अहिले नेपाली पाठशालामा बच्चाहरूलाई सामान्य नेपाली भाषा र अक्षर सिकाउने गरी स्वर वर्ण र व्यञ्जन वर्णको पढाइ भइरहेको छ । बिस्तारै नेपालको संस्कृति र परम्पराको बारेमा जानकारी दिने किताब पनि पढाउने तयारी रहेको नितु बताउँछिन् ।

नितुका अनुसार, नेपाली पाठशाला सञ्चालन गर्नुको उद्देश्य नै नेपाली बालबालिकालाई नेपाली भाषासँगै नेपाली संस्कृति, संस्कार, परम्परा, चाडपर्व लगायत कुराको ज्ञान दिनु हो । 

बच्चाहरू मात्र नभई त्यहाँ धेरै समय बसिसकेका नेपालीले समेत नेपालको संस्कृति बिर्सिन थालेको हुँदा त्यसलाई जोगाउन पनि यो कार्यक्रम सञ्चालन गरिएको नितुको भनाइ छ । नितु भन्छिन्, ‘चाडपर्व मनाउनेदेखि नेपाली संस्कृति झल्किने नृत्य सिकाउने योजनामा छौं ।’

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्