भागरथीका हत्यारालाई कारबाही गर्न नेकपा र कांग्रेसका शीर्ष नेताको माग
काठमाडौं, माघ २४ : बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न नेकपा (दाहाल–नेपाल) समूह र कांग्रेसले माग गरेको छ।शनिबार नेकपा...
काठमाडौं, माघ २४ : बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न नेकपा (दाहाल–नेपाल) समूह र कांग्रेसले माग गरेको छ।
शनिबार नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको जनाएका छन्।
उनीहरुले विद्यालयबाट घर फर्किंदै गरेको वेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको भ्रत्सना गरेका छन्। अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, 'डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ।'
विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।
त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पत्ता लगाइत तत्काल कारबाही गर्न सरकारसँग् माग गरेका छन्। सभापति देउवाले भागरथीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया #भागरथी_भट्टको#हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल #अनुसन्धान गरेर दोशीलाई #कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा #समवेदना व्यक्त गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) February 6, 2021
माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि आफन्तजनले खाेजी शुरु गरेका थिए। माघ २२ गते साँझ ५ बजेतिर गाउँनजिकैको लबलेक जङ्गलमा शव फेला परेको थियो।
उनी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन्।
घटनामा प्रहरीले अनुसन्धान भइरहेकाे जनाएकाे छ। शनिबार साँझसम्म हत्यामा संलग्न काेही पनि पक्राउ परेका छैनन्।
-1791022760.jpeg)



-1791022760.jpeg)






