Kathmandu Press

चौदण्डीविरुद्ध आर्मीको फराकिलो जित

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको महिला लिगको दोस्रो चरणको पहिलो खेलमा रश्मी घिसिङले ह्याट्रिक गरेपछि आर्मीले उदयपुरको चौदण्डीगढीलाई ९–०ले हरायो ।
चौदण्डीविरुद्ध आर्मीको फराकिलो जित

काठमाडौं, माघ २४ः काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको महिला लिगको दोस्रो चरणको पहिलो खेलमा रश्मी घिसिङले ह्याट्रिक गरेपछि आर्मीले उदयपुरको चौदण्डीगढीलाई ९–०ले हरायो ।

आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् भने शर्मिला थापाले दुई तथा भुजुंगा राई र अन्जली वाइवाले एक–एक गोल गरे । आर्मील्े पहिलो हाफमा ३ र दोस्रो हाफमा  ६ गोल गरेको थियो ।

रश्मीले १९औं, ५२औं, ६०औं र ६३औं मिनेटमा गोल गरेकी थिइन् भने शर्मिलाले २३औं र ४०औं मिनेटमा गोल गरिन् । भुजुंगाले ७८औं र अन्जलीले ८८औं मिनेटमा गोल गरेकी थिइन्। इन्जुरी समयमा चौदण्डगढीका विदेशी खेलाडी एमित लेप्चाले आत्मघाती गोल गरेकी थिइन् ।

पहिलो चरणमा पनि आर्मीले चौदण्डीगढीमाथि १२–०को फराकिलो जित निकालेको थियो । चौदण्डीले भारतबाट भर्खरै अनुबन्धन गरेका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो ।

जितपछि ७ खेलबाट १६ अंक जोडेको आर्मीले लिग लिडर एफीएफसँग अंकदूरी २ मा झारेको छ । चौदण्डीगढीको भने यो लगातार सातौं हार हो ।

 

प्रकाशित मिति: १८:२३ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्