Kathmandu Press

सरकार भूमिहीनलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं, माघ २४: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छिन्...
सरकार भूमिहीनलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं, माघ २४: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छिन् । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिले गरेको एक कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पु¥याउनुपर्छ भन्नेमा सरकार गम्भीर भएर लागेको बताइन् ।

उनले यसका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र सदस्यको अहम भूमिका रहने बताइन् । ‘सरकारले तपाईहरुमाथि भरोसा गरेको छ, भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिले त्यस कार्यका लागि ठूलो अपेक्षा राख्नुभएको छ’, मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘उहाँहरुलाई पुर्जा दिन सरकार आतुर छ, त्यसलाई व्यवहारमा उतार्न पहलकदमी गर्नुहोस् ।’

नेपालको संविधानले निर्देशन गरेअनुसार भूमिसम्बन्धी जोडिएका अधिकार सुनिश्चिताका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी गराउँदै उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारीका साथ आयोग गठन गरिएको र तीन वर्षभित्रैमा काम सक्नुपर्ने जिम्मेवारी रहेको स्मरण गराइन् ।

सरकारले आयोगका अध्यक्ष र सदस्य तथा जिल्ला समितिसँग धेरै आशा र भरोसा राखेको बताउँदै मन्त्री तुम्बाहाङ्फेले जग्गाधनी प्रमाणपुर्जा दिनका लागि चलखेल गर्ने विचौलीया प्रवृत्तिदेखि सचते हुन र होसियारीपूर्वक काम गर्न आग्रह गरिन् ।

अहिलेसम्म भूमिहीनको जग्गाधनी पुर्जा वितरणका लागि ४०० बढी स्थानीय तहसँग सम्झौता भइसकेको छ । झण्डै २०० स्थानीय तहले सूचना नै निकालिसकेका छन् । अहिले पनि सयौँ लगत सङ्कलक कार्य क्षेत्रमा खटिएका छन् । मन्त्री तुम्बाहाङ्फेले सम्झौता गर्न बाँकी स्थानीय तहसँग सम्झौता गरेर कामलाई तीव्रता दिन सम्बन्धित जिल्ला समितिका पदाधिकारीसँग आग्रह गरिन् ।

 

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, माघ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्