Kathmandu Press

राष्ट्रिय महिला लिग : विराटनगरले पुलिसलाई हरायो, चौदण्डीगढीको पोस्टमा आर्मीको दर्जन गोल

पहिलो खेलमा आर्मीले चौदण्डीगढीमाथि १२–० को फराकिलो जित निकाल्यो । विराटनगरले पुलिस क्लबमाथि १–० को जित निकाल्यो ।
राष्ट्रिय महिला लिग : विराटनगरले पुलिसलाई हरायो, चौदण्डीगढीको पोस्टमा आर्मीको दर्जन गोल

काठमाडाैं, माघ २१ :  काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा बुधबार दुई खेल भए । पहिलो खेल त्रिभुवन आर्मी क्लब र उदपुरको चौदण्डीगढी नगरपालिकाबीच थियो भने दोस्रो खेल विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लबबीच थियो । पहिलो खेलमा आर्मीले चौदण्डीगढीमाथि १२–० को फराकिलो जित निकाल्यो । विराटनगरले पुलिस क्लबमाथि १–० को जित निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको दोस्रो खेलमा विभागीय टिम पुलिसविरुद्ध विराटनगरलाई जित दिलाउन पार्वती घलेले निर्णायक गोल गरिन् । पार्वतीले नवौं मिनेटमा पुलिसको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन् ।

त्यसपछि खेलमा गोल नहुँदा विराटनगर विजयी भयो । खेलमा पुलिसले गोलका थुप्रै अवसर पाएको थियो, तर त्यसलाई सदुपयोग गर्न भने सकेन् ।

प्रतियोगितामा तेस्रो जित निकालेसँगै विराटनगर तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलमा विराटनगरको १० अंक भएको छ। ६ खेलमा ८ अंक जोडेको पुलिस चौथो स्थानमा छ । पुलिस उपाधि होडबाट बाहिरिएको छ ।

शर्मिलाको ह्याट्रिमा आर्मीको फराकिलो जित

शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरेपछि राष्ट्रिय महिला लिगमा आर्मी क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–०ले हरायो । बुधबार भएको पहिलो खेलमा आर्मीलाई फराकिलो जित दिलाउन शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरिन् भने सपना लामाले दुई गोल गरिन् । यस्तै, कप्तान अन्जली वाइबा, हेमा चौधरी, बिमला चौधरी, विमला बिक र रश्मी घिसिङले एक–एक गोल गरे । आर्मीले प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध पहिलो हाफमा ८ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।

जितसँगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो । अंकबिहीन चौदण्डीगढी पुछारमा छ ।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्