Kathmandu Press

अफगानिस्तानको राजधानीमा शृंखलाबद्ध बम आक्रमण

अफगानिस्तानको राजधानी काबुलमा आज बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ ।
अफगानिस्तानको राजधानीमा शृंखलाबद्ध बम आक्रमण

काठमाडौं, माघ २० : अफगानिस्तानको राजधानी काबुलमा आज बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो ।     

प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिए । अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए ।
     
तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए । हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकिल, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमितझैं हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमण अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ ।    

Hardik ivf

यसैबीच अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकुहरु मारिएका छन् ।  

प्रान्तीय परिषद्का प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको जानकारी दिए । उनले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकूको ज्यान गएको पनि बताए ।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्