Kathmandu Press

सावित्राले १२ गोल गर्दा एपिएफ विजयी, आर्मीले विराटनगरलाई हरायो

काडमाडौंमा जारी महिला राष्ट्रिय लिगमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी एक्लैले दर्जन गोल गरेकी छिन् ।
सावित्राले १२ गोल गर्दा एपिएफ विजयी, आर्मीले विराटनगरलाई हरायो

काठमाडौं, माघ १९ : काडमाडौंमा जारी महिला राष्ट्रिय लिगमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी एक्लैले दर्जन गोल गरेकी छिन् । सावित्रा एक्लैले १२ गोल गरेपछि राष्ट्रिष्य महिला लिगमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–०को फराकिलो अन्तरले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफलाई सहज जित दिलाउने क्रममा सावित्राका अलावा कप्तान अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ३ गोल गरिन् । यस्तै रेनुका नगरकोटी र सरु लिम्बुले एक–एक गोल गरे । 

यसैगरी आइतबार नै भएको अर्को खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्बलले विराटनगर महानगरपालिलाई ७–०ले हरायो । आर्मीको जितमा शर्मिला पाथाले ह्याट्रिक गरिन भने विमला चौधरीले दुई तथा विमला विक र रश्मि घिसिङले समान १ गोल गरे । आर्मीले पहिले हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो । 

राष्ट्रियमा लगातार छैटाैं जित निकालेको एपिएफ १८ अंकसहित शीर्ष स्थानमा छ । अंकविहीन रहेको चौदण्डीगढी तालिकाको पुछारमा छ । एपिएफ डिफेन्डिङ च्याम्पियन पनि हो । यस्तै ५ खेलमा १० अंक जोडेको आर्मी दोस्रो स्थानमा छ भने ५ खेलमै ७ अंक जोडेको विराटनगर चौथो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्