नेपाललाई तीन लाख डोज कोभिड–१९ खोप उपलब्ध गराउने चीनको निर्णय
चिनियाँ कम्पनी ‘सिनोफार्म’ले कोभिड–१९ विरुद्ध खोपको तीन लाख डोज नेपाललाई उपलब्ध गराउन चीन सरकारले निर्णय गरिसकेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।
नेपालगन्ज, माघ १८ स् : चिनियाँ कम्पनी ‘सिनोफार्म’ले कोभिड–१९ विरुद्ध खोपको तीन लाख डोज नेपाललाई उपलब्ध गराउन चीन सरकारले निर्णय गरिसकेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । त्यसबाट डेढ लाख नेपाली नागरिकलाई खोप उपलब्ध हुने दूतावासले आइतबार साँझ प्रकाशित गरेको प्रेस नोटमा उल्लेख छ ।
उक्त खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग अनुमतिका लागि नेपाली अधिकारीहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ । ‘कोभिड–१९ विरुद्धको लडाईंमा विजयी बन्न नेपाल र नेपाली जनतालाई चीनले अनुदानमा उपलब्ध गराउने खोपबाट मद्दत मिल्ने विश्वास छ,’ प्रेस नोटमा भनिएको छ, ‘चीन सरकार नेपाली पक्षसँग मिलेर काम गर्न तयार छ ।’
चीनभित्रै र विश्वभर कोभिड–१९ विरुद्धको खोपको उच्च माग रहेको बाबजुद चीन सरकारले आफ्नो असल छिमेकी नेपाललाई उच्च प्राथमिकता दिएको दूतावासले जनाएको छ । ‘नेपाल र चीन असल छिमेकी, मित्रराष्ट्र र साझेदार मुलुक हुन्,’ प्रेस नोटमा भनिएको छ, ‘कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने निर्णय नेपाल–चीन मित्रताको महत्व झल्काउँछ ।’
आइतबारसम्म २ करोड ४० लाख डोज खोप वितरण भइसकेको दाबी दूतावासको छ । दुई डोज लगाएपछि कोभिड–१९ विरुद्ध ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखिएको छ, पाकिस्तान, यूएई, हंगेरीलगायत १३ मुलुकमा खोप वितरणका लागि लाइसेन्स प्राप्त भइसकेको छ,’ प्रेस नोटमा उल्लेख छ ।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
