Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध देश आन्दोलनमा, प्रधानमन्त्रीको ध्यान भने राम मन्दिरमै

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देश नै आन्दोलित छ। प्रधानमन्त्री ओलीलाई त्यसबाट खासै फरक परेको छैन। किनकि, उनी अझै चितवन माडी नगरपालिका-८ मा विवादास्पद राम मन्दिर निर्माणमा लागिपरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध देश आन्दोलनमा, प्रधानमन्त्रीको ध्यान भने राम मन्दिरमै

भरतपुर, माघ १७ : प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको उनी नेतृत्वको नेकपाबाहेक देश नै आन्दोलित छ। प्रधानमन्त्री ओलीलाई त्यसबाट खासै फरक परेको छैन। किनकि, उनी अझै चितवन माडी नगरपालिका-८ मा विवादास्पद राम मन्दिर निर्माणमा लागिपरेका छन्।

त्यसको पुष्टि प्रधानमन्त्री ओली आफैंले शनिबार भरतपुर पुगेर गरे। भरतपुरस्थित गोन्द्र्याङबाट पुल्चोक जोड्ने सडक र महागर सिटी हल शिलान्यासमा आएका प्रधानमन्त्रीले स्थानीय केन्द्रीय बसपार्कमा आयोजित सभामा विवादास्पद राम मन्दिर निर्माणको प्रसंगलाई प्रमुखताका साथ उठाए।

‘भगवान् रामको मूर्ति निर्माण भइसक्यो, सीताको मूर्ति बन्दैछ, हनुमानलगायत अन्य देवी देवताका मूर्ति बन्ने क्रममा छन्,’ प्रधानमन्त्रीले सभामा भने, ‘राम मन्दिर निर्माणका लागि डीपीआर निर्माणको तयारी भइरहेको छ। ०७८ सालको राम नवमीमा म आफैंले मूर्तिहरू लिएर आउँछु।’

महानगरले प्रधानमन्त्रीले सडक र सिटी हल शिलान्यास गर्ने कुरामा विरोध जनाएको थियो। सोही कारण महानगर प्रमुख रेणु दाहाल शिलान्यास कार्यक्रममा सहभागी भइनन्। नेकपाकै प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीप्रति विरोध जनाउँदै मुख्य सडक अवरुद्ध गर्ने प्रयास गरेको थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित चितवनबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने तीन सांसद् छन्, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलसहित। पाण्डे र पोखरेल पनि प्रचण्ड-नेपाल समूहमा छन्। त्यसैले उनीहरू पनि प्रधानमन्त्रीको कार्यक्रममा सहभागी भएनन्। प्रधानमन्त्रीले उनीहरूलाई व्यंग्य गर्न छुटाएनन्।

प्रधानमन्त्रीले भरतपुरमा शनिबार आयोजित सभा ट्रेलर मात्र भएको बताए । र, फेरि आएर शनिबारभन्दा बढी जनता भेला पारेर सभा गर्ने बताए ।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्