Kathmandu Press

मनाङको जंगलमा फेरि आगलागी, बस्ती जोगाउँन मुस्किल

मनाङ, माघ १७ : गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङको नासो गाउँपालिका रहेका जङ्गलमा फेरि आगलागी भएको छ।मनाङको ताचैमा लागेको...
मनाङको जंगलमा फेरि आगलागी, बस्ती जोगाउँन मुस्किल

मनाङ, माघ १७ :गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङको नासो गाउँपालिकाकाे जङ्गलमा फेरि आगलागी भएको छ।

मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन्।

नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले आगो नियन्त्रणमा लिन नसकिएको बताए। 'जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,' वडाध्यक्ष गुरुङले भने।

चारैतिर अग्ला डाँडाकाँडा छने भने बीचमा ताचै बस्ती छ। यहाँ ६३ परिवार बस्दै आएका छन्।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए। तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ।

जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बासिन्दा मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै उनले भने, 'पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ।'

ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताए। अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले चासो नदिएको गुनासो गरे।

आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ। जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन्। अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा नं. ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले बताए।

आगो गाउँमा छिरेपछि पनि कतैबाट पनि सुरक्षा नपाएकामा आक्रोश व्यक्त गर्दै उनले भने, “प्रशासनले आगो लगाउने व्यक्ति पहिचान गर्न चासो  देखाएन र अन्य सङ्घसंस्था पनि गम्भीर देखिएनन्।’’

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारबाही गरिने बताए। 'आगोको त्रासमा प्रशासन भयवित भएका जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको छ,’ उनले भने।

जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उनको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०९:२१ बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्