Kathmandu Press

केपी ओलीको असफलताबाट मुक्तिको लागि पनि ताजा जनादेश : कमल थापा

काठमाडौं, माघ १७ : राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश आवश्यक भएको बताएका...
केपी ओलीको असफलताबाट मुक्तिको लागि पनि ताजा जनादेश : कमल थापा

काठमाडौं, माघ १७ : राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश आवश्यक भएको बताएका छन्।

अध्यक्ष थापाले संसदीय प्रजातन्त्र भएको मुलुकमा ताजा जनादेशमा जाने निर्णय उपयुक्त भएको जिकिर गरेका छन्। आज बिहान श्रृंखलाबद्ध रुपमा ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्, 'संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक हो। संविधानको आशय स्थिरता हो। विघटनले होइन, पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ।'

उनले बहुमत प्राप्त प्रमले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा अस्पष्टता रहेको बताएका छन्। यसको निराकरण सर्वोच्च अदालतले गर्ने जनाएका छन्।

अध्यक्ष थापाले चुनावमा जानु उपयुक्त भएको बताएका छन्। 'नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत छैन,' अध्यक्ष थापाले भने, 'नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन। संसदीय प्रजातन्त्र र संवैधानिक मूल्यमान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो। केपी ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ।'

अध्यक्ष थापाले संसद् पुनःस्थापनाभन्दा पनि चुनावमै जोड दिएका छन्। 'विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोडदिएको हो। चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठबन्धन बनाएर  सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि होइन,' थापाले भनेका छन्, 'बहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास हो।'

 

प्रकाशित मिति: ०८:५९ बजे, शनिबार, माघ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्