Kathmandu Press

कक्षा ११ र १२ मा गणित अनिवार्य समूहमा

यसअघि अनिवार्यबाट हटाई ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुला रहने गरी निर्णय गरेको हो ।     
कक्षा ११ र १२ मा गणित अनिवार्य समूहमा

काठमाडौं, माघ १६ : कक्षा ११ र १२ मा  ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाई ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुला रहने गरी निर्णय गरेको हो ।     

नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यको ‘वा’ मा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको परिषद्को बैठकको निर्णय र सिफारिसको कार्यान्वयन शिक्षा मन्त्रालय र मातहतको पाठ्यक्रम विकास केन्द्रले गर्नेछ । यो निर्णय यसै शैक्षिक सत्रदेखि लागू हुनेछ । उक्त तहमा नेपाली र अङ्ग्रेजी विषय भने स्वतः अनिवार्य हुनेछ ।     
     
गणितलाई अनिवार्य विषयबाट हटाइएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गत पुस २८ गते दिइएको फैसलामा नयाँ पाठ्यक्रम लागू गर्न बाधा नहुने तर गणित विषयलाई समावेश गर्ने गरी निर्देश गरिएको थियो ।

२०७५ जेठ १८ गतेको परिषद्को बैठकले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो । उक्त निर्णयका आधारमा शिक्षा मन्त्रालयले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ जारी गरी गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।         

प्रकाशित मिति: २१:३० बजे, शुक्रबार, माघ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्