वडा नम्बर २ लाई गजराज जोशी कप उपाधि
वडा नम्बर २ ले टोखा नगरपालिका अन्तरवडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौं, माघ १६ : वडा नम्बर २ ले टोखा नगरपालिका अन्तरवडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्बर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्बर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाएको थियो ।
६७औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्बर २ को अग्रता दोब्बर बनायो । ७३औं मिनेटमा कप्तान सरोज श्रेष्ठले गोल गर्दै वडा नम्बर २ लाई उपाधि दिलाए । वडा नम्बर ८ ले पनि केही अवसर पाए पनि सदुपयोग हुन नसक्दा उपाधि विमुख बन्यो ।
उपाधिसँगै वडा नम्बर २ ले ७० हजार रुपैयाँ प्राप्त गर्याे । दोस्रो भएको वडा नम्बर ८ ले ३५ हजार रुपैयाँ प्राप्त गर्याे। वडा नं ८ का अनिल थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । वडा नम्बर २ का सञ्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक, वडा नम्बर १ का सागर डंगोल उत्कृष्ट डिफेन्डर र प्रतियोगितामा ५ गोल गरेका वडा नम्बर २ का सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनिए । .उनीहरुले समान ३–३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा वडा नम्बर ६ अनुशाासित टोली घोषित भयाे ।
५ माघदेखि शुरु भएको प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको थियो । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो ।











