दोस्रो दिन २८ हजार ७३२ जनाले लगाए खोप
काठमाडौं, माघ १५ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार सात सय ३२ जनाले लगाएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...
काठमाडौं, माघ १५ : कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार सात सय ३२ जनाले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा बेलुका ५ बजेसम्म २८ हजार सात सय ३२ जनाले खोप लगाएका छन्।
प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई हजार एक सय ७४ र बागमती प्रदेशमा ११ हजार चार सय ६१ जनाले खोप लगाएका छन्। त्यस्तै, गण्डकी प्रदेशमा चार हजार आठ सय ५३, लुम्बिनी प्रदेशमा दुई हजार तीन सय तीन, कर्णाली प्रदेशमा एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार चार सय १७ जना खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आजसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको प्रवक्ता डा. गौतमले बताए। मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन्।
खोपको मात्रा ०.५ मिलिलिटर प्रदान गरिनेछ। त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ। खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर दिइनेछ।
भारत सरकारको सहयोगमा ल्याइएको १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको हो। खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, एक सय २० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका तीन सय वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
