बागमतीलाई हराउँदै आर्मी प्रधानमन्त्री कपको फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
काठमाडौं, माघ १५ : विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टियू...
काठमाडौं, माघ १५ : विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा बागमती प्रदेशमाथि ९४ रनको जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।
अब आर्मीले उपाधिका लागि अर्को विभागीय टिम एपिएफ क्लबसँग खेल्ने छ। एपिएफ डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो। फाइनल खेल शनिबार हुनेछ।
आर्मीले दिएको २३० रनको लक्ष्य पछ्याएको बागमतीले ४२.२ ओभरमा अलआउट हुँदै १३५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाउँदा विपिन आचार्यले २३ र नन्दन यादवले २२ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
बागमतीको इनिङ धरासायी बनाउने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए भने विक्रम सोब र सुशन भारीले समान ३ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २२९ रन बनायो। उसको सुरुवात पनि राम्रो हुन सकेन। उसले १७ रन बनाउँद तीन विकेट गुमाएको थियो। त्यसपछि भीम सार्की, लोकेश बम र राजेश पुलामीले आर्मीको इनिङ सम्हाले।
९१ बल खेलेका राजेश पुलामीले ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रन बनाउँदा भीम सार्कीले ६१ बल खेल्दै ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए। यस्तै, विक्रम सोबले ३५ र लोकेश बमले २३ रन बनाए। बागमतीका गौतम केसीले ५ विकेट लिए।











