शुक्रबारदेखि प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल
चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ ।काठमाडौं, माघ १५ : चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ ।
शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिस्पर्धा हुनेछ । चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ ।
प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु ७५ हजार र रु ४० हजारसहित ट्रफी र पदक र अन्य चार विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने जनाए । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर रहेका छन् ।
उनले भने, ‘फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । चन्द्रागिरि नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ ।’ कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । –रासस











