पहिलाे दिन नौ हजार ८४ जनाले लगाए कोरोना खोप

काठमाडौं, माघ १४ : कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ देशभर नौ हजार ८४ जनाले लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको बताए। भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको लगाइएको हो।
प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना र बागमती प्रदेशमा दुई हजार ६ सय ९४ जनाले खोप लगाएका छन्।
त्यस्तै, गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना, लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णाली प्रदेशमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन्।
सरकारले पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ। यही माघ ८ गते भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो।
खोप अभियान शुभारम्भमा सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले बताए।
काठमाडौंमा खोप केन्द्र रहेका अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अनुगमन पनि गरेका छन्। उनीहरुले त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनुगमन गरेका हुन्।
आज खोप लगाएका व्यक्तिहरुलाई एक महिनापछि दोस्रो खोप लगाइनेछ। कोरोना खोप एक महिनाको फरकमा दुई पटक लगाउनुपर्छ।
बेलायतको अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरेम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो। यसको प्रभावकारिता ७० प्रतिशत रहेको छ।
नेपालमा पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी र सामाजिक कार्यकर्तालाई लगाइनेछ। त्यसपछि अन्य व्यक्तिहरुका लागि खोप खरिद गर्ने सरकारको तयारी छ।










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
