सर्वोच्चमा संसद् विघटनविरुद्धको मुद्दामा बहस सुरु
काठमाडौं, माघ १३ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बहस सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा...
काठमाडौं, माघ १३ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बहस सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। सबै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
आज सुनुवाइको नवौं दिन पनि निवेदक तर्फका कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता र अधिवक्ता गरि अझै ४६ जना बसहको क्रममा छन्।
सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले खारेज गर्नुपर्ने जिकिर गरेका थिए।
आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमै बहस सुरु भएको हो।
निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि एमिकस क्युरीको राय लिएर संवैधानिक इजलासले फैसला सुनाउनेछ।










