Kathmandu Press

आन्तरिक पर्यटकको आगमनले गुल्जार बन्दै पर्यटकीय क्षेत्र

इलाम, माघ १२ : कोरोना भाइरसको महामारीका कारण संकटमा परेको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। आन्तरिक पर्यटकको चहलपहले फेरि व्यवसाय जुर्मुराउन...
आन्तरिक पर्यटकको आगमनले गुल्जार बन्दै पर्यटकीय क्षेत्र
इलामकाे प्रमुख पर्यटकीय गन्तव्य श्रीअन्तु।

इलाम, माघ १२ :कोरोना भाइरसको महामारीका कारण संकटमा परेको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। आन्तरिक पर्यटकको चहलपहलले फेरि पर्यटन व्यवसाय जुर्मुराउन थालेको छ।

लकडाउन कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडेका थिए। पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने। व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे। धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो। पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्यो।

यसको विपरीत लकडाउन खुलेसँगै स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो। स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढेका छन्। जसले गर्दा पर्यटकीय क्षेत्रमा फेरि चहलपहल सुरु भएको छ।

चार महिना घरमै थुनिएका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र आवश्यक पर्यो। त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो। घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे। इलामका सन्दकपुर, श्रीअन्तु, माईपोखरीलगायतका क्षेत्रमा त भीड नै लाग्यो तर गुमनाम पर्यटकीय क्षेत्रमा चहलपहल बढेपछि पर्यटनकर्मी र स्थानीय तह भौतिक निर्माण र व्यवस्थापनमा जुटेका छन्।

हुन त पछिल्लो समय केही पर्यटकीयस्थल चलचित्र र म्युजिक भिडियोको सुटिङ क्षेत्र बनेर पनि चर्चामा आए। सुटिङ स्पट भन्दै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती तस्वीर सङ्ग्रहित भए। यसैले धेरै पर्यटक सोही क्षेत्र पुगे। जिल्लामा नयाँ पहिचान बनाएका पर्यटकीय क्षेत्र दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डे डाँडा, गुफाथुम्की मुख्य हुन्।

लकडाउनअघि सामान्य चर्चा कमाएका यी क्षेत्र पछिल्लो समय एकाएक चर्चामा पुगेका हुन्। इलाम नगरपालिकाको दिदीबहिनी झरना पछिल्लो समय अत्यन्तै बढी पर्यटक पुग्ने मुख्य गन्तव्य क्षेत्र हो। विशेषगरी शुक्रबार र शनिबार यस क्षेत्रमा पर्यटकको चहलपहल चल्छ। उस्तै झरना, एकै ठाउँमा भएकाले यी झरनालाई दिदीबहिनी झरना भनिएको हो।

सदरमुकाम नजिकै रहेकाले पनि यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको पर्यटनकर्मी सोम सुनुवारको भनाइ छ। सुगम सदरमुकाम नजिक र छोटो बाटो भएकाले पनि आन्तरिक पर्यटक पुग्ने गरेको सुनुवारको भनाइ छ।

यस्तै सुटिङस्थलका रूपमा चर्चामा आएको पानीटारमा पनि पर्यटकको आइरो लाग्ने गरेको छ। ‘मिनी कन्याम’का रूपमा विकास भइरहेको पानीटारमा चर्चित म्युजिक भिडियो ‘तीन पाते’को सुटिङ क्षेत्र हो। आँखा नबिझाउञ्जेल हेरिरहुँ लाग्ने, केही अग्लो र केही होचो चियाबारीले जिल्लाभित्रका पर्यटकलाई बढी तानेको छ।

म्युजिक भिडियोपछि ‘कृष्णलीला’ चलचित्र यो स्थानमा सुटिङ भयो । चलचित्रको सुटिङपश्चात् झनै पर्यटकको उपस्थिति बाक्लिएको स्थानीय पर्यटनकर्मीको भनाइ छ।

चलचित्रका लागि यो ठाउँको दृश्य खिचियो तर सामाजिक सञ्जालमा देखिन थालेपछि चलचित्र नसकी नै सोही क्षेत्र चर्चा आएको हो । 'हामीले चलचित्रबाट पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न यहाँ (पानीटार) आएका थियौँ तर, सामाजिक सञ्जालमा आएपछि पर्यटकको लर्के ताँत लाग्यो,' कृष्णलीलाका निर्माता केवल तामाङले भने, 'चलचित्र रिलिज हुनुअघि नै पानीटारमा पर्यटक पुग्न थाल्नुभयो । अब चलचित्रमा समेत देखिएपछि त झनै बढ्छन्।'

वनभोजस्थलका रूपमा विकास भइरहेको पानीटारमा छुट्टीमा झण्डै २०० पर्यटक एकै दिन पुग्ने गरेका छन् । यो क्षेत्रमा अझै पनि व्यवस्थित खाने र बस्ने ठाउँको अभाव छ । यसैले पर्यटक लामो समय रहन सक्दैनन् तर पर्यटकको चहलपहल बढ्न थालेपछि भौतिक संरचनाको निर्माणमा लागेको पर्यटनकर्मी पासाङ शेर्पा बताए।

यस्तै छिल्लो समय कहलिएको पर्यटकीय क्षेत्र हो इलाम नगरपालिकाको पाटेनागी। उच्च पहाडी क्षेत्रमा पर्ने यो क्षेत्र हिमाल हेर्न र स्थानीय परिकार चाख्न बढी पर्यटक पुग्ने गरेका छन्। पाटेनागीको केही तलसम्म कच्ची सडक पुर्याएपछि त झनै पर्यटकको चहलपहल बाक्लिएको छ । दैनिक यो ठाउँमा १५ देखि २० आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

स्थानीय तहले नचिनेका पर्यटकीय क्षेत्र

विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ । भौतिक निर्माण ९बाटो, अवलोकन गर्ने स्तम्भ०को अभावमा अझै केही पर्यटकीय क्षेत्रमा पुग्न सकस छ । जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्ने छिन्टापु, टोड्के झरनालगायतका सुन्दर पर्यटकीय क्षेत्र अझै पनि पर्यटकको प्रतीक्षामा छन्।

टोड्के झरना जिल्लाकै अग्लो झरना हो तर झरनासम्म पुग्ने सडक अझै बनेको छैन । भिरालो जङ्गलको बाटो छिचोल्नै झरना पुग्न कष्टकर छ तर यसप्रति कसैको ध्यान गएको देखिँदैन।

जिल्लाका योभन्दा साना झरना चर्चामा आए पनि टोड्के झरनामा ध्यान पुगेको छैन तर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा पालिका लागिरहेको बताए। उनका अनुसार निकट भविष्यमै यो स्थानमा सडक पुग्ने छ । 'केही भवन यहाँ बनिएका छन् । आवश्यकतानुसार अन्य भवन बनाउँछौँ । अब यो क्षेत्र गुमनाम हुँदैन,' खनालले भने।

यस्तै अर्को पर्यटकीय क्षेत्र छिन्टापु पनि हालसम्म गुमनाम छ । यो क्षेत्रमा पर्यटक होइन, स्थानीयवासी पनि पुग्न सकस छ । बाक्लो जङ्गलको कष्टकर बाटो हिँडेर जानुपर्ने भएकाले बाटो अल्मलिने समस्या ज्यादै धेरै हुन्छ। हालसम्म सडकसमेत नपुगेका कारण छिन्टापुमा छिटपुटबाहेक पर्यटक पुग्न सक्दैनन्।

यो क्षेत्र विकासका लागि पनि गाउँपालिकाले योजना बनाएको प्रवक्ता खनालको भनाइ छ । छिन्टापुको नजिक रहेको सन्दकपुरमा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । बिहान बेलुकै सन्दकपुरमा आन्तरिक मात्र नभई बाह्य पर्यटकको भने चहलपहल हुन्छ तर नजिकै रहेको यस्तै क्षेत्र छिन्टापु कसैको आँखामा पर्दै ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको समेत यस ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ । बहुमूल्य जडीबुटी पाइने क्षेत्रका रूपमा पनि छिन्टापु चर्चित छ । यदि स्थानीय तहको आँखा पुगे चर्चित पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात हुन सक्छ।

छिन्टापुजस्तै पानीटारमा समेत स्थानीय तहको उपस्थिति नगन्य मात्रा रहेको छ । निजी क्षेत्रको प्रोत्साहनले चर्चित भएको यो क्षेत्रमा स्थानीय तह ९देउमाई नगरपालिका०को ध्यान नपुग्दा भौतिक संरचनाको निर्माण हुन सकेको छैन।

यता नगरपालिकाले पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आफ्नो ध्यान नगएको स्वीकारेको छ । नगरका प्रवक्ता दावा तामाङले आफूहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताए।। (रासस)

प्रकाशित मिति: १०:०० बजे, सोमबार, माघ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्