दाहाल–नेपाल समूहको निर्णय– प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने
काठमाडौं, माघ ११ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । ...
काठमाडौं, माघ ११ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
स्थायी कमिटीको बैठकमा सम्बन्धित प्रदेशका प्रमुख एवं स्थायी कमिटी सदस्यले आआफ्ना प्रदेशको समग्र पार्टी, जनवर्गीय सङ्गठन एवम् पछिल्ला संघर्षका कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकले केन्द्रीय कार्यालय सचिवमा नेता गंगालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्का एक उपसचिवसमेत नियुक्त गरिने जनाइएको छ ।
बैठकले सोमबार नै संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने अख्तियारी संघर्ष समितिलाई दिएको छ । त्यस्तै प्रदेश र जिल्ला कमिटीका पदाधिकारीसहित साङ्गठनिक एकीकरणका बाँकी काम एकाध दिनभित्रै सम्पन्न गर्ने र रिक्त पदमा तत्काल पदपूर्ति गरिने भएको छ । सो कार्यका लागि पार्टी स्थायी कमिटीका सदस्यहरुको परामर्शमा सचिवालयले आवश्यक निर्णय गर्ने अख्तियारीसमेत बैठकले दिएको छ ।
पार्टीको अनुशासन तथा विधिलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ । नेकपाले यही माघ ३ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी, देश र जनताविरुद्ध गतिविधि गरेको पाइएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी आजको बैठकले कारबाही गरेको छ ।’











