संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा बहस सुरु
काठमाडौं, माघ ११ : संसद् विघटनविरुद्ध परेका मुद्दाको आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५...
काठमाडौं, माघ ११ : संसद् विघटनविरुद्ध परेका मुद्दाको आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। तिनै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको छ।
आज सातौ दिन पनि निवेदक पक्षकै कानुन व्यवसायीले संवैधानिक इजलासमा बहस गर्ने भएका छन्। थुप्रै रिट निवेदक भएकाले उनीहरुको बहसको क्रम जारी रहेको छ।
शुक्रबारसम्म ३५ जना कानुन व्यवसायीले बहस गरेका छन्। बहस गर्नका लागि तीन सय कानुन व्यवसायीले निवेदन दिएका छन्।
निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ। अनि मात्रै फैसला सुनाउनेछ।
आज पनि संवैधानिक इजलासमा न्यायाधीश फेरबदल भएका छैनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी संवैधानिक इजलासमा छन्।











