Kathmandu Press

टीकापुरमा वडा विभाजनको विषयले विवाद निम्त्याउँदै

टीकापुर, माघ ११ : कैलालीको टीकापुर नगरपालिकाले गरेको वडा विभाजनको प्रस्तावमा विवाद उत्पन्न हुन थालेको छ।नगरपालिकाको सर्वदलीय सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने...
टीकापुरमा वडा विभाजनको विषयले विवाद निम्त्याउँदै

टीकापुर, माघ ११ : कैलालीको टीकापुर नगरपालिकाले गरेको वडा विभाजनको प्रस्तावमा विवाद उत्पन्न हुन थालेको छ।

नगरपालिकाको सर्वदलीय सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने भन्दै हस्ताक्षर गरेका राजनीतिक दलका प्रतिनिधि बाहिर आएसँगै विभाजित बनेका छन्। वडा विभाजनको विवादले नगरपालिकाको आठौँ अधिवेशन अनिश्चित बनेको छ।

कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भावनामा डुबेर १० वटा वडा थप्ने माग गरिएको बताए। 'वडा नं १ लाई बढीमा ६ वटा वडासम्म बनाउन सकिन्छ। त्यसमा सीमाङ्कनका कुरालाई गम्भीरताका साथ लिन जरुरी छ,' अधिकारीले भने, 'साधन स्रोतको आधारमा वडा विभाजन हुनुपर्दछ। आफूलाई सजिलो हुने गरी भन्दा भूगोल र जनसङ्ख्याका आधारमा वडा विभाजन गरिनुपर्दछ।'

त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष दयाराम सञ्ज्यालले नगरपालिकामा १० वडा थप गरी १९ वडासम्म बनाउन सकिने बताए। 'जनसङ्ख्याको आधारमा वडा विभाजन गरिनुपर्दछ। वडा नं १ मात्र नभई सबै वडालाई समानान्तररूपमा मिलाई वडा विभाजन गर्दा राम्रो होला,' सञ्ज्यालले भने, 'पटक÷पटक वडा विभाजन गर्न पनि सकिँदैन। भोलि उपमहानगरपालिकाको परिकल्पनामा वडा विभाजन गरिनुपर्दछ।'

जनता समाजवादी पार्टीका नेता हरि तिमिल्सिनाले भूगोल र जनसङ्ख्याको हिसाबले मिल्ने गरी वडा विभाजन गरिनुपर्ने बताए। उनले भविष्यलाई समेत हेरेर वडा विभाजन गरिनुपर्ने भन्दै जनसङ्ख्याको अनुपातका आधारमा वडा विभाजन गरे राम्रो हुने बताए।

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले अहिलेको अवस्थामा १० वडा थप गर्ने कुरा टीकापुरको नगरपालिकाका लागि उचित नभएको बताए। 'चारदेखि ५ सम्म बनाउँदा राम्रो हुन्छ। कसैले राजनीतिकरूपमा वडा विभाजन गर्दा त्यसको साधन स्रोतको विषयमा पनि सोच्न आवश्यक छ,' भण्डारीले भने, 'मनपरि गर्नुछ भने जे गरे पनि हुन्छ, भोलि आसेपासेलाई पाल्न र जागिरे बनाउनका लागि हो भने मेरो भन्नु केही छैन।'

वडा विभाजनकै विषयमा विवाद हुँदा नगरपालिकाको आठौँ  नगरसभा स्थगन भएको डेढ सातासम्म पनि पुनः सञ्चालन हुनसकेको छैन। पुस २६ गते शुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुट्न नसकेपछि दोस्रो दिन नै स्थगन भएको थियो।

टीकापुर नगरपालिका– १ का वडाध्यक्ष गङ्गाराम आचार्यको संयोजकत्वमा गठित वडा विभाजन कार्यदलमै सहमति जुट्न नसकेको प्रस्ताव कार्यपालिका बैठक हुँदै नगरसभामा पेश गरिएको थियो। कार्यदलका सदस्य रहेका कार्यपालिका सदस्य रमेश विकले कार्यदलको बैठकमै प्रस्तावमा असहमति जनाएका थिए।

वडा विभाजनसम्बन्धी बनेको कार्यविधिले कुनै एक बस्तीलाई टुक्र्याउन नहुने व्यवस्था गरेको भए पनि कार्यदलले ब्लक नं १४ लाई विभाजन गर्न खोजेपछि विवाद शुरु भएको हो। 'टीकापुरको सबैभन्दा पुरानो बस्तीलाई टुक्र्याउने कुरा चित्त बुझेन,' कार्यपालिका सदस्य विकले भने, 'वर्षौँदेखि मिलेर बसेको बस्तीलाई टुक्र्याउन नहुने कुरा कार्यविधिमा स्पष्ट छ।'

प्रस्तावउपर गम्भीर छलफल नभएको विपक्षमा उभिएका वडाध्यक्षको भनाइ छ। कार्यदलमा वडा नं २ का वडाध्यक्ष प्रकाश बुढाथोकी, कार्यपालिका सदस्य सीता चौधरी, रमेश विक, डम्मर राजी, नापी कार्यालयका एक कर्मचारी र सदस्यसचिवमा योजना शाखाका प्रमुख नवराज जोशी सदस्य रहेका थिए।

कार्यदलले नगरसभामा वडा नं १ लाई चार र वडा नं २ लाई दुई वडामा विभाजन गर्ने प्रस्ताव पेश गरेको थियो। हाल नगरपालिकामा नौ वडा छन्। वडा नं १ जनसङ्ख्याका हिसाबले नेपालकै सबैभन्दा ठूलो वडा मानिन्छ।

यहाँ करिब ४८ हजारभन्दा बढी जनसङ्ख्या रहेको नगरपालिकाको प्रोफाइलमा उल्लेख छ। तराईका हकमा नगरपालिकाको एक वडा हुन कम्तीमा छ हजार चार सय जनसङ्ख्या हुनुपर्ने प्रावधान छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा विभाजनको प्रस्ताव नगरसभाबाट दुईतिहाइले पारित गर्नुपर्ने उल्लेख छ। ६ जना वडाध्यक्ष र अन्य केही कार्यपालिका सदस्य नै प्रस्तावको विपक्षमा उभिएपछि प्रस्तावले सामान्य बहुमतसमेत नपाउने अवस्था देखिएको छ। 'हामीले सहमतिको प्रयास गर्दै आएका छौँ, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, 'वडा विभाजनको कुरामा पुनःविचार गर्ने राय आएको छ। सोहीअनुसार कार्यदल र सरोकारवालासँग छलफल भइरहेको छ। त्यहीअनुसार अगाडि बढ्छौँ।' (रासस)

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्