Kathmandu Press

सैनिक महिलाले हाँकेको गोरखाली गुल्म

पल्टनका नियमित क्रियाकलाप त छँदै छन्, गोरखाली गुल्मका सदस्यहरूले शिवरात्रि, सेना दिवसजस्ता समारोहमा पनि सक्रियतापूर्वक सहभागी हुन्छन् भने पछिल्लो समय कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा पनि खटिएका छन्।
सैनिक महिलाले हाँकेको गोरखाली गुल्म
गाेरखाली गुल्मकाे टाेली। फाेटाे साैजन्य : नेपाली सेना

काठमाडौं, माघ ११ : नेपाली सेनामा महिलाको पहिलो पल्टन हो, गोरखाली गुल्म। १ साउन ०७४ मा स्थापित यो पल्टन नारायणहिटी दरबार संग्रहालय परिसरमा तैनाथ छ। हाल सेनानी सुरुची थापाको कमान्डमा रहेको गुल्ममा एक सय ७८ जना सैनिक महिला कार्यरत छन्।

सैन्य सेवा निजामतिजस्तो दैनिक निश्चित समय कार्यालयमा बिताउनुपर्ने जागिर होइन। त्यसैले पल्टनका सबै सदस्य सधैँ साथमा रहन्छन्। सबैजना महिला भएकाले पुरुष पल्टनमा बसेजस्तो संकोच मान्नुपर्दैन, उनीहरूले। आपसका समस्या बुझ्छन्, आ–आफ्ना सुख, दुःख आपसमा सेयर गर्छन् र एकअर्कालाई सहयोग गर्न तत्परता देखाउँछन्।

सेनानी थापाले नेपाली सेनामा १६ वर्ष बिताइसकेकी छन्। सेनानीमा पदोन्नती भएकै ११ वर्ष बित्यो। संयोगबस, महिला पल्टन सम्हाल्ने उनी चौथो कमान्डर हुन्। पल्टन कमान्डर बन्नुअघि उनी काठमाडौं भद्रकालीस्थित जंगी अड्डामा कार्यरत थिइन्। गोरखाली गुल्मको कमान्डरका रूपमा उनले एक वर्ष बिताउनुपर्नेछ। त्यसपछि जसले गोरखाली गुल्म कमान्ड गर्नेछन्, उनी पनि महिला अधिकृत नै हुनेछिन्।

Hardik ivf

गोरखाली गुल्मका सदस्यहरूको दैनिकी अन्य पल्टनकै जसरी सुरु हुन्छ। बिहान साढे ६ बजे सबैजना पीटीमा सामेल भइसकेका हुन्छन्। दिनभर तालिम, खेल, परेडलगायत क्रियाकलाप हुन्छन्। ती सबै रुटिन हुन्, पल्टनका।

पल्टनका नियमित क्रियाकलाप त छँदै छन्, गोरखाली गुल्मका सदस्यहरूले शिवरात्रि, सेना दिवसजस्ता समारोहमा पनि सक्रियतापूर्वक सहभागी हुन्छन्।

गोरखाली गुल्मको सीधा चेन अफ कमान्ड उपत्यका पृतना हो। पृतनाबाट प्राप्त हुने निर्देशनबमोजिम कार्य सम्पादन गर्छ, यो गुल्मले।

शव व्यवस्थापन गर्दै गाेरखाली गुल्मका सैनिक। तस्बिर : रासस

कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी तालिम गुल्मभित्र नियमित सञ्चालन हुन्छ, सैनिक महिलाहरूका लागि। गर्भवती बनेका सैनिकलाई बोझिला काम लगाइँदैन, सजिलो ड्युटी मात्र दिइन्छ। आमा बन्ने ‘डेट’ नजिक आएपछि ‘बेबी सावर’ समारोह आयोजना गरिन्छ। नेपाली संस्कृतिमा यसलाई दही चिउरा खुवाउने भनिन्छ।

अन्य पल्टनमा जस्तो गोरखाली गुल्ममा सैनिक महिलाका परिवारका लागि क्वार्टर छैन। ‘पोस्टिङ भइरहने कारणले फ्यामिली क्वार्टर नराखेका हौँ,’ सेनानी थापा भन्छिन्।

कोही घर बिदामा गएर फर्किंदा क्वारेन्टिनमा राखिन्छ। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्र नियमित ड्युटी दिइन्छ। ‘कोभिड व्यवस्थापनमा नेपाली सेनामा कार्यरत महिलाको सहभागिता राम्रो छ,’ सेनानी थापा भन्छिन्, ‘हामीले राम्रो छाप छाड्न सकेका छौँजस्तो लाग्छ।’

नेपाली समाजमा महिलाले पार्थिव शरीर छुन नहुने अन्धविश्वास पाइन्छ। नेपाली सेनाको कुरा बेग्लै छ। अहिले कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला नै परिचालन गरिएको छ, जसबाट समाजमा व्याप्त अन्धविश्वास तोड्न मद्दत पुगेको छ।

यस्तो छ इतिहास

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार ०१८ सालदेखि नै महिला भर्ति खोलिएको थियो। तर, त्यो प्राविधिक अर्थात् मेडिकल कोर मात्र थियो। त्यसको ४२ वर्षपछि ०६० सालदेखि मात्र साधारणतर्फ महिला भर्ति खोलिएको हो। ०६१ सालदेखि मात्र साधारणतर्फ अधिकृत तहमा भर्ना लिन थालिएको थियो।

०१८ सालमा सेनाले नर्सहरूलाई अवसर दियो। ०२२ सालमा प्यारासुट फोल्डरमा महिलालाई सामेल गरायो। ०२६ सालमा चिकित्सक महिलाले सेनामाअवसर पाए। ०५५ सालमा आएर सेनाको कानून विभाग (प्राड)मा महिलालाई अवसर दिइयो।

साधारण सैनिकतर्फ ०६० सालदेखि भर्ना लिन थालियो। र, ०६१ सालदेखि महिलाले पनि नेपाली सेनाको अधिकृत बन्ने मौका पाउन थाले। सेनाको हवाई सेवातर्फ ०६७ सालदेखि महिलाले अवसर पाइरहेका छन्।

‘समयक्रमसँगै नेपाली सेनामा महिला सहभागिता बढ्दो छ,’ सहायक रथी पौडेल भन्छन्, ‘र, त्यससँगै नेपाली सेनाले आफ्नो संरचनागत समायोजन पनि गर्दै लगेको छ।’ महिलामैत्री बासस्थान, महिलामैत्री सुविधा त्यसमा पर्छन्।

महिनावारी हुँदा आवश्यक हुने सामग्री मात्र होइन, सौन्दर्य सामग्री पनि वितरण गर्ने गरिएको छ। सेनाभित्रै ब्युटिसियन तालिममा पनि चलाइने गरेको छ। ‘नेपाली सेनामा लैंगिक समता र समानता तथा अवसर सिर्जना गरिएको छ,’ पौडेल भन्छन्, ‘पुरुष सहकर्मीसरह नै सक्षमतापूर्वक उनीहरूले आफ्नो जिम्मेवारी वहन गरिरहेका छन्।’

एकपछि अर्को सफलता

गत वर्ष सेनाको स्टाफ कलेज परीक्षामा एक अधिकृत सफल भएकी थिइन्। अघिल्लो वर्ष त्यो संख्या चार थियो।

माउन्टेन वारफेयर मात्र होइन, जंगल वारफेयरमा पनि उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन्। १८ कात्तिकदेखि ६ माघसम्म सञ्चालित जंगल वार फेयर तालिममा सिपाही दर्जाकी राधिका थापा जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला बनेकी छन्। यो सेनाभित्रको अत्यन्तै कठिनमध्येको तालिम हो।

शव व्यवस्थापनसम्बन्धी तालिमका तीनवटा संस्करण सम्पन्न भएका छन्। कात्तिक चौथो साता सैनिक महिलाहरूको नौजनाको टोली कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि तयार भएको थियो। उक्त टोलीले हालसम्म १३ वटा शव व्यवस्थापन गरिसकेको छ।

‘नेपाली सेनामा लैंगिक कारणबाट कोही पछाडि पर्नुपर्ने अवस्था छैन,’ सहायक रथी पौडेल भन्छन्, ‘लैंगिक समानता कायम राख्न नीतिगत व्यवस्था लागू भएका छन् र कमान्डरहरूले मोटिभेट पनि गरिरहेका छन्।’

०२६ सालमा प्राविधिक सहायक सेनानीका रूपमा नर्स अन्नपूर्ण कुँवर नेपाली सेनामा भर्ति हुने पहिलो महिला अधिकृत हुन्। उपसेनानी डा. सरिता केसीले पहिलोपटक लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फौजमा सहभागी हुने अवसर पाइन्।

यस्तै, क्याप्टेन कृति राजभण्डारीले ०७२ सालमा दक्षिण सुडानस्थित शान्ति मिसनमा पहिलोपटक यूएन मिलिटरी लियाजन अधिकृत बनिन्। नेपाली सेनाको कम्पनी कमान्डर बन्ने पहिलो अधिकृत हुन्, सेनानी सृष्टी खड्का, जो गोरखाली गुल्मको पहिलो गुल्मपति थिइन्।

यस्तै, ०७४ सालमा मेजर गीता गुरुङ नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्रसंघको पहिलो ‘डिस्इंगेजमेन्ट अब्जर्भर’मा पहिलो युनिट कमान्डर बनिन्। ०७५ सालमा मेजर सुलोचना पौडेल सैन्य कमान्ड तथा स्टाफ कोर्समा छनोट हुने पहिलो महिला अधिकृत बनिन्।

नेपाली सेनामा हाल पाँच हजार नौ सय ८९ जना महिला कार्यरत छन्। तीमध्ये ८३ जना सेनानी, ७० जना सह–सेनानी, १३ जना निमित्त सह–सेनानी, ३२ जना उपसेनानी छन्। साधारणतर्फ अधिकृतभन्दा तल्लो तहमा चार हजार १३ जना कार्यरत छन्। त्यसबाहेकका सैनिक महिला, कानून, प्राविधिक, लेखा, क्लर्क, हवाई विभागमा कार्यरत छन्।

शान्ति सेनामा महिला

संयुक्त राष्ट्रसंघका शान्ति मिसनमा पनि नेपाली सैनिक महिलाको सहभागिता बढ्दो छ। मिसनमा खटिजाने महिलालाई ज्यष्ेठताका आधारमा छनोट गर्ने गरिएको छ। साधारणतर्फका सैनिक महिलाको सेवा अवधि ११ वर्षभन्दा कम छ। त्यसमा पनि ज्यष्ेठताका आधारमा छनोट हुने व्यवस्था छ।

शान्ति सेनामा कम्तिमा २० जना खटाउने व्यवस्था छ। प्राविधिकसहित ३० जना खटिने गरेका छन्। शान्ति सेनामा खटिने सैनिकमध्ये ६.५ प्रतिशत महिला खटाउनुपर्ने संयुक्त राष्ट्रसंघको नियम छ।

प्रकाशित मिति: ०९:५७ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्