Kathmandu Press

नौ ठाउँबाट नेकपा जुलुस, राजधानी अस्तव्यस्त

संसद् विघटनविरुद्ध माइतीघर, डिल्लीबजार, लैनचौर, बालाजु, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज र शान्तिबाटिकाबाट नेकपाकाे जुलुस निस्किन थालेकाे छ। जसले गर्दा राजधानीकाे यातायात अस्तव्यस्त भएकाे छ।
नौ ठाउँबाट नेकपा जुलुस, राजधानी अस्तव्यस्त

काठमाडौं, माघ ९ : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड नेपाल) समूहको जुलुस निस्क थालेको छ। राजधानीका विभिन्न स्थानबाट जुलुस निस्केपछि यातायात अस्तव्यस्त भएको छ।

नेकपाले आज भृकुटी मण्डपमा विरोध सभा आयोजना गरेको छ। सभामा सहभागी हुने काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट जुलुस निस्किरहेका छन्।

विशेष गरेर उपत्यका नौ ठाउँबाट ठूला जुलुस निकाल्ने योजना छ। जसअनुसार, माइतीघर, डिल्लीबजार, लैनचौर, बालाजु, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज र शान्तिबाटिकाबाट जुलुस निस्किरहेका छन्।

माइतीघरको जुलुशमा गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा, डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसाल, लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गरिरहेका छन्।

यस्तै, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा छन् भने कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु त्रिपुरेश्वरबाट निस्केको जुलुसमा सहभागी छन्।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा छन भने शान्तिवाटीकाबाट सुरु भएको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई सहभागी छन्।

त्यस्तै, देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट तथा वाल्मिकी क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले नेतृत्व गरिरहेका छन्।

सबैतिरबाट जुलुस निस्केपछि राजधानीको यातायात अस्तव्यस्त भएको छ। ठाउँठाउँमा घन्टौँसम्म ट्राफिक जाम भएको छ। यातायातका साधन रोकिएका छन्।

सबै ठाउँबाट आएको नेकपाको जुलुस भृकुटी मण्डपमा पुग्ने भएको छ। त्यहाँ आयोजना हुने सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्