मट्का अर्थात् चिया, साथी र गफ!
मट्का चियाका लागि आवश्यक मसला, ड्राइफुड, कपलगायत सबै सामान स्वदेशमै पाइन्छन्। कप त झन भक्तपुरबाटै ल्याइन्छ। फरक–फरक चियाका लागि फरक-फरक मसला भने सञ्चालक आफैँले बनाउँछन्।काठमाडाैं माघ ९ :चिया, साथी र गफ ! काठमाडौं भीमसेनगोलास्थित ‘चिया घर’को भित्तामा टाँसिएको नारा हो यो। सोमबार दिउँसो यहाँ पुग्दा विशेषतः युवाहरू चियाको चुस्की लगाउँदै साथीसँग गफमा व्यस्त थिए।
‘यहाँको स्लोगन नै चिया, साथी र गफ भन्ने छ। चिया खान आएपछि साथीसँग भेट हुन्छ, अनि गफ हुन्छ,’ नक्सालबाट यहाँ चिया पिउन आएकी सविता निरौला भन्छिन्, ‘अरु ठाउँमा चियापत्ती, चिनी र पानी मात्र मिसाएर चिया बन्छ भने यहाँ विशेष खालको मसला राखेर बनाएको चिया माटोको कपमा दिइन्छ, जसले चियाको स्वादमै फरक पार्छ।’
आफू रिफ्रेसमेन्टका लागि यहाँ चिया पिउन आइरहने सविता बताउँछिन्। ‘मैले यहाँ चिया पिउन थालेको दुई वर्ष भइसक्यो,’ उनी भन्छिन्, ‘यहाँ चियाको भेराइटी पाइन्छ। त्यसैले यहाँ आउन मन लाग्छ।’
सविताजस्तै सञ्जय कार्की पनि यहाँ चिया पिउन आइरहन्छन्। यहाँको चियाको स्वाद र वातावरणले आफूलाई आकर्षित गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘यहाँको पिसफुल र फ्रेन्ड्ली इन्भाइरोन्मेन्ट भएकाले प्रायः चिया खान यहीँ आउने गरेको छु।’
यहाँ विभिन्न मसला राखेर बनाइएको चियालाई माटोको भाँडामा दिइन्छ, जसलाई मट्का चिया भनिन्छ। पछिल्लो समय विशेषतः युवाहरूको मट्का चियाप्रति आकर्षण बढेको पाइन्छ।
यस चिया घरमा छिर्नेबित्तिकै एउटा भित्तामा विभिन्न नाम वा चित्र कोरिएका मट्का (माटोका कप) राखिएका छन् भने अर्को भित्तामा किताबहरू। भित्रपट्टि खुला आकाशमा काठका आठवटा आकर्षक टेबल छन्, प्रत्येक टेबलमा काठका चार–चारवटा कुर्सी राखिएका छन्। एउटा टेबलको माथि भित्तामा स्लोगन छ– साथी, गफ र चिया।
पहिलोपटक यहाँ जानेलाई खुल्दुली लाग्न सक्छ– मट्कामा किन विभिन्न नाम वा चित्र कोरेको होला ?
चियाघरका सञ्चालक तिलक मल्ल ठकुरी भन्छन्, ‘मट्का (कप)लाई पुनः प्रयोग गर्न मिल्दैन। त्यसैले ग्राहकले आफूले चिया खाएपछि त्यसमा आफ्नो नाम, चित्र वा केही आर्ट गरेर छाड्छन्। त्यसैलाई सजाएर राखिएको हो।’
उनका अनुसार यहाँ प्रतिकप ३० रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको चिया पाइन्छ।
यो चियाघर करिब चार वर्षअघि सञ्चालनमा ल्याइएको हो। सानो कोठाबाट सुरु गरिएको यो व्यवसायबाट अहिले राम्रो आम्दानी हुन थालेको सञ्चालक ठकुरी बताउँछन्। अहिले उपत्यकामा यस चिया घरको चारवटा शाखा रहेका छन्। चिया र जुसहरू पाउने यो पसलको विशेषता नै मट्का चिया हो।
‘अहिले दैनिक सात सय कपको हाराहारीमा चिया तथा जुस बिक्री हुन्छन्। जसमध्ये दुई सय ५० भन्दा बढी कप मट्का चिया नै जान्छ,’ सञ्चालक ठकुरी बताउँछन्, ‘भिन्न प्रकारले फरक स्वादमा मट्का चिया पेस गर्नु हाम्रो मुख्य उद्देश्य हो।’
चियाघरमा २० भन्दा बढी प्रकारका चिया पाइने ठकुरी बताउँछन्। यसमध्येको एक हो, मट्का चिया। यो चिया बनाउन उमालेको दूधमा आवश्यक मसला राखेर केहीबेर पकाइन्छ। तयार चियालाई माटोको कपमा राखी त्यसमाथि नरिवलको धुलोले सजाएर ग्राहकलाई दिइन्छ।
सञ्चालक ठकुरीका अनुसार, मट्का चियाका लागि सबै स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ। ‘मट्का चियाका लागि आवश्यक मसला, ड्राइफुड, कप लगायत सबै सामान स्वदेशमै पाइन्छ,’ उनी भन्छन्, ‘हामीले फरक–फरक चियाका लागि मसला आफैँ बनाउने गरेका छौँ। मट्का (माटोको कप) भक्तपुरबाट ल्याउँछौँ।’
भक्तपुर पोटरी स्क्वायरका सृजन प्रजापति माटाका भाँडा लगायत सामान बनाउने पेसा गर्छन्। उनका अनुसार, केही वर्षअघिको तुलनामा अहिले माटाका भाँडाको प्रयोग बढेको छ।
‘पछिल्लो समय खासगरी मट्काको माग बढेको छ। हामीले अर्डर आए अनुसार बनाउँछौँ,’ प्रजापति भन्छन्, ‘माटाका अन्य सामग्री, जस्तोः गमला, दियो, मूर्ति र सजावटका सामान पनि बिक्री हुन्छ।’
अहिले मट्का चियाले पनि आफ्नो व्यवसाय बढाउन सघाएको उनी बताउँछन्। ‘प्रजापति समुदायका युवाहरू माटोमा भविष्य छैन भन्छन्, गर्न सक्यो भने यसमा धेरै छ जस्तो लाग्छ,’ प्रजापति भन्छन्, ‘अहिले कहाँ–कहाँबाट मानिसहरू माटोको भाँडा लिन भक्तपुर आउने गरेका छन्, बजार माग अनुसारको मात्र सामान बनाएर बेच्ने हो भने यसले आम्दानी बढाउनुका साथै पुख्र्यौली पेसा जोगाउन पनि सहज हुन्छ।’