Kathmandu Press

लोकतान्त्रिक प्रणालीलाई सही बाटोमा ल्याउन  राजनीतिक लडाइँ भइरहेको छ : प्रधानमन्त्री

दाहाल–नेपालको मित्रतालाई सिनेमाको जस्तो अवास्तविक ‘लभ’सँग  तुलना गर्दै उनले भने, ‘सिनेमा हिरो र हिरोइनको लभ परेको हुन्छ । हिरोइन घाइते हुन्छे, हिराे रुन्छ । तर सिनेमाका घटना वास्तविक होइनन् ।  लभ परेको पनि होइन, घाइते भएको पनि होइन । सब तमासा हो ।’
लोकतान्त्रिक प्रणालीलाई सही बाटोमा ल्याउन  राजनीतिक लडाइँ भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले  लोकतान्त्रिक प्रणालीलाई सही बाटोमा ल्याउन  राजनीतिक लडाइँ भइरहेको बताएका छन् । उनले प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कुबाटोतिर लागेको लोकतान्त्रिक प्रणालीलाई सही बाटोमा ल्याउन राजनीतिक लडाइँ भइरहेको बताएका हुन् ।

प्रम ओलीले भने, ‘लडेर ल्याएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र संरक्षण गर्न अहिले राजनीतिक लडाइँ भइरहेको छ ।’ 

सम्बोधनकै क्रममा ओलीले नेकपा दाहाल–नेपाल समूहका गतिविधिमाथि कटाक्ष गरेका छन् । दाहाल–नेपालको मित्रतालाई सिनेमाको जस्तो अवास्तविक ‘लभ’सँग तुलना गर्दै उनले भने, ‘सिनेमा हिरो र हिरोइनको लभ परेको हुन्छ । हिरोइन घाइते हुन्छे,  हिराे रुन्छ । तर सिनेमाका घटना वास्तविक होइनन् । लभ परेको पनि होइन, घाइते भएको पनि होइन । सब तमासा हो ।’

प्रम ओलीले दाहाल–नेपाल समूहले सडकमा तामासा गरेर हिँडेको आरोप लगाए । उनले भने, ‘यहाँ तमासा गरेका छन् । जनतालाई झुक्याएका छन् । हामीले त्यस्ता तत्त्वबाट जनतालाई सजग गराउनुपर्छ ।’ 

प्रतिनिधिसभा विघटनको पक्षमा सर्वोच्चले निर्णय  गरे अस्वीकार्य हुने भन्दै सडकमा उत्रिएका समूहतर्फ कटाक्ष गर्दै उनले भने, ‘हामी रातो झन्डा फहराउनेवाला हौँ, पेरिसडाँडामा जस्तो कालो झन्डा फहराउनेवाला होइनाैँ । रातो बेलुन उडाउनेवाला हौँ, कालो होइन । सडकमा रातो झन्डा बोकेर हिँड्नेबेला हौँ । रातो, चम्किलो र उज्यालो  भविष्य हाम्रो गन्तव्य हो ।’ 

उनले राजनीतिक लडाइँमा कसैसँग प्रतिशोध नसाँधेको दाबी गर्दै भने, ‘हामीलाई कसैसँग प्रतिशोध लिनु छैन । हामीलाई देश बनाउनु छ । देशलाई विकासको बाटोमा लानु छ । सुशासानको बाटोमा लानु छ । भ्रष्टाचार न्यूनीकरण गर्नु छ ।’

उनले देश बचाउन र बनाउन मति ठीक ठाउँमा राख्नुपर्ने तर्कसमेत गरे । 

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्