कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु
लन्डन, माघ ८ : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। बुधबार दिएको जानकारीमा...
लन्डन, माघ ८ : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको जनाएका छन्।
यसैगरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ। उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन्।
उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगिसकेको छ।
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ।यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएको छ। एकै दिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या पनि हो।
यो समेत गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ। समाचारअनुसार यही बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी नागरिकमा यो संक्रमण पुगेको छ। विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ। यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ।
बुधबार मात्र विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ। गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन्। पछिल्ला दिनहरुमा संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ।
पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ। युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ।











