संसद् विघटन गरेर राजतन्त्र पुनर्स्थापना गर्ने प्रयत्न भयो : दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनर्स्थापना गर्ने प्रयत्न भएको बताएका छन् ।
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनर्स्थापना गर्ने प्रयत्न भएको बताएका छन् ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले संसद् अन्य गरेर मुलुकलाई निरंकुशता र अनिश्चयको भूमरीतर्फ धकेल्ने प्रयास भएको दाबी गरे ।
प्रतिनिधिसभा विघटन गरेर सात दशक लामो संघर्षपश्चात् जनताले प्राप्त गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको प्रतिनिधिद्वारा निर्मित संविधानलगायत उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको जिकिर गर्दै उनले यसलाई हरहालतमा रोक्नुपर्ने बताए ।
‘कसैले नेपाललाई फेरि अनिश्चयको भूमरीमा लैजाने, मुलुकलाई संविधानहीनताको अवस्थामा पु¥याउने, तानाशाहको हातमा लैजाने प्रयत्न गर्छ भने त्यसलाई रोक्ने दायित्व जनताको हो,’ उनले भने । मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार जगतको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीले संघीयता, संविधानसभा र गणतन्त्रको पक्षमा वकालत गरेकै कारण परिवर्तन सम्भव भएको बताए ।











