चुनावका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी
काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनपछि घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरिएको छ ।सरकारले आगामी १७...
काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनपछि घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरिएको छ ।
सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो।
त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजना लगायतका प्राविधिक विषयमा खाका बनाएको हो।
खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो। फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ। यस बर्ष म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने तयारी छ ।
यसअघि विगतको निर्वाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब निर्धारण गरिएको थियो।











