प्रधानमन्त्रीले अन्तर्वार्ता दिएको जी न्यूजको अभियान, 'सगरमाथामा भारतले दाबी ठोक्नुपर्छ'
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले सगरमाथाको नाम बदल्ने अभियान सुरु गरेको छ।
काठमाडौं, पुस २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले नयाँ अभियान सुरु गरेको छ। नेपालबाट फर्केपछि जी न्यूजको टोलीले सगरमाथाको नाम बदल्ने अभियान सुरु गरेको हो।
सोमबार प्रधानमन्त्री ओलीले जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई अन्तर्वाता दिएका थिए। जसमा धेरैले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका थिए।
प्रधानमन्त्री ओलीले निम्त्याएका पाहुनलाई सगरमाथा क्षेत्रको भ्रमण गराएका थिए। उनी माउन्टेन फ्लाइटमा सगरमाथाको आधारशिविर नजिकै पर्ने कालापत्थर पुगेका थिए।
उनले त्यहीबाट रिपोर्ट बनाएका छन्। त्यहाँ पनि उनले अब सगरमाथामा भारतले दाबी ठोक्नुपर्ने बताएका छन्।
देखिए #DNA LIVE @sudhirchaudhary के साथ
— Zee News (@ZeeNews) January 12, 2021
+ माउंट एवरेस्ट का असली नाम 'माउंट सिकदर' होना चाहिए, क्यों?
+ किसान आंदोलन की सुप्रीम अवमानना का DNA टेस्ट https://t.co/ejRWLMG3At
उनले सगरमाथाको नाम माउन्ट सिकदर राख्नुपर्ने अभियान सुरु गरेको जनाएका छन्। यसको सुरुआत सगरमाथा क्षेत्रबाटै गरेको उनको भनाइ छ।
भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकार छँदा सन् १८५६ मा सगरमाथाको उचाइ मापन गरिएको थियो। ब्रिटिस इस्ट इन्डिया सरकारको सर्भे डिपार्टमेन्टले खटाएको टोलीमा भारतीय गणितज्ञ राधानाथ सिकदर थिए।
जी न्यूजले उनै सिकदरको नामले सगरमाथाको नाम राख्नुपर्ने अभियान सुरु गरेको हो। सगरमाथाको नाम बदल्न भारतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाब दिनुपर्ने उनको भनाइ छ।
नेपालबाट दिल्ली फर्केपछि मंगलबार जी न्युजबाट प्रसारण भएको डीएनए कार्यक्रममा उनले सगरमाथासम्बन्धी रिपोर्ट बजाएका थिए। जसमा सगरमाथाको नाम बदल्ने अभियान सुरु गरेको उल्लेख छ।











