Kathmandu Press

एआइजी पोखरेलको नेतृत्वमा प्रहरीकाे निर्वाचन तयारी समिति

काठमाडौं, पुस २९ : नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन...
एआइजी पोखरेलको नेतृत्वमा प्रहरीकाे निर्वाचन तयारी समिति

काठमाडौं, पुस २९ : नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ।

एआईजी पोखरेलको नेतृत्वमा बनेको समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।

प्रहरी प्रवक्ता कुँवरका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ। यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्नेछ।

एक सदस्यका अनुसार समितिले हाल मौजुदा जनशक्ति, साधन स्रोतको मूल्याङ्कन, व्यवस्थापन र परिचालनका काम गर्नुका साथै थप आवश्यकता पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने छ।

यस्तै निर्वाचनमा प्रहरी परिचालन नीति बनाएर अघि बढ्ने जनाइएको छ। अपुग साधन स्रोतको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराउने छ । प्रहरीका निर्वाचनसम्बन्धीका हरेक गतिविधि यही समितिमार्फत हुने प्रहरीले जनाएको छ।

यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ। सोहीअनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो।

प्रकाशित मिति: ०९:५२ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्