गाउँमै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइ
म्याग्दी, पुस २६ : म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन सुरु भएको छ।शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई...
म्याग्दी, पुस २६ : म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन सुरु भएको छ।
शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो। अब दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन्।
गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न पाउँदा सानैदेखिको रुचि र इच्छा पूरा भएको विद्यार्थी आयुष आचार्यले बताए। “इलेक्ट्रिकल पढ्ने मेरो सानैदेखिको रुचि थियो”, उनले भने, 'गाउँकै स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ।'
प्राविधिक विषय पढ्न घर छाडेर जानुपर्ने बाध्यता हटेकामा कक्षा ९ की छात्रा आयुषा हर्मेलले बताइन्। यसअघि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न म्याग्दीको नारच्याङस्थित प्रभा मावि, पोखरा, बुटवल, काठमाडौं र चितवन जानुपर्ने बाध्यता थियो।
इलेक्ट्रिकल इञ्जिनीयरिङ जलविद्युत् र विद्युत् आयोजनासँग सम्बन्धित छ। यो विषय व्यवहारिक र रोजगारमूलक हो।
कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनीयरिङ पढ्न पाउँछन्। नेपाली, अंग्रेजी, गणित र विज्ञान विषय साधारण कक्षा सरहकै हुन्छ।
साधारणका अलावा इलेक्ट्रिकल इञ्जिनीयरिङ, बेसिक इलेक्ट्रोनिक, इलेक्ट्रिकल एप्लिकेशन एण्ड मेन्टिनेन्स, इञ्जिनीयरिङ ड्रोइङ, कम्प्युटर एप्लिकेशन र वर्कसप टेक्नोलोजी विषयको पनि पठनपाठन हुने गरेको छ।
४८ जनाको कोटा भएको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय अध्ययनका लागि कक्षा ९ मा २२ जना भर्ना भएका प्रधानाध्यापक ओमकार पौडेलले बताए। 'कोरोना महामारीको जोखिमका कारण यस वर्ष गाउँपालिका बाहिरका विद्यार्थी आउन सकेनन्,' उनले भने, 'अर्को वर्ष छिमेकी पालिका र जिल्लाका विद्यार्थीलाई पनि भर्ना गराउन पहल गरेका छौँ।'
कक्षा ११ उत्तीर्ण गरेपछि डिप्लोमा इन इञ्जिनीयरिङसरह र १० उत्तीर्ण गर्नेले टेक्निसियनसरहको योग्यता पाउँछन्। शिक्षा मन्त्रालयले यस वर्ष एक प्रशिक्षक र एक सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराएको छ। प्रतिकक्षा दुईका दरले प्रशिक्षक र सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराउने नीति छ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकम माविलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने योजना बनाएको बताए। प्रदेश र संघ सरकारसँग समन्वय गरेर छात्रावास, प्रयोगशाला र कक्षाकोठा भवनलगायत पूर्वाधार निर्माण शुरु गरेको उनले बताए।
प्राविधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार तयार पारेको छ। विसं २०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थायी स्वीकृति पाएको छ। स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको हो। (रासस)











