इन्डोनेशियामा ६२ जना यात्रु चढेको जहाज दुर्घटनामा

काठमाडौं, पुस २६ : इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ ।
श्रीविजया एयरको बोइङ–७३७ विमान वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै राडारबाट हराएको थियो । जहाजमा चालक दलका १२ जना र ५० जना यात्रु रहेका बीबीसीले जनाएको छ । जहाज विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिले विमानको खोजी भइरहेको बीबीसीले जनाएको छ । जहाज ठूलो वर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको थियो । इन्डोनेशियाको यातायात मन्त्रालयले भने खोजी र उद्धारमा कठिन भएको भन्दै आधिकारिक जवाफ दिएको छैन् ।
बीबीसीका अनुसार माछा मार्ने मानिसहरुले जहाज समुद्रमा झरेको देखेको बताएका छन् । जहाजका जस्ता टुक्राका तस्बिर र भिडियोहरु सार्वजनिक भइरहेको बताएको छ ।












