प्रधानमन्त्रीले असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन : नेता सिंह
काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै दलको विश्वास जित्न नसकेका प्रधानमन्त्रीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने...
काठमाडौं, पुस २५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै दलको विश्वास जित्न नसकेका प्रधानमन्त्रीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।
शनिबार संसद् विघटनको विरुद्धमा देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले गरेको विरोधसभाको काठमाडौं १ (क) मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको बताए।
उनल आफ्नै पार्टीको विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्रीले पुन निर्वाचन गरेर जनताको मत ल्याउन सक्छन भन्ने कुरा पत्याउन नसकिने बताएका हुन्।
‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’
‘करिब दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकार। संविधान अनुसार नै हिठेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिढेको भए अस्थिरताको भूमरीमा देशको राजनीति फस्दैन थियो।’
उनले कांग्रेसको नेतृत्व रहँदा जारी भएको संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए।
साथै, संसद् विघटन विरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेरिरहेको बताउँदै उनले अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्म अनुसार निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताए।
उनले प्रधानमन्त्रीले असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अध्यारो सरुङमा फस्नेसमेत बताए।











