Kathmandu Press

निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्छ : खानेपानीमन्त्री थापा

काठमाडौं, पुस २५ : खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने बताएका छन्।मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी...
निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्छ : खानेपानीमन्त्री थापा

काठमाडौं, पुस २५ : खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको संकट समाधान गर्ने बताएका छन्।

मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे। रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा उनले वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु भनेको देश पछाडि धकेलिनु भएको बताए।

संसद् विघटनका विषयमा आएका टीकाटिप्पणीलाई सङ्केत गर्दै उनले कुनै पनि विषयमा राजनीतिक टिप्पणी र विष्लेषण हुनुलाई स्वाभाविकरुपमा लिएको बताए। उनले अहिलेको अवस्थामा निर्वाचनमा जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको जानकारी दिए। 

सञ्चारकर्मीले सोधेका एक जिज्ञासामा उहाँले मन्त्री हुनका लागि समूह परिवर्तन गरेको आरोपको खण्डन गरे। ‘वर्तमान संकटको घडीमा इमान्दार र गतिशील मान्छे मन्त्रिमण्डलमा जानुपर्छ भनी प्रधानमन्त्रीले गरेको प्रस्तावलाई आफूले स्वीकार गरेको हुँ, मेरा निम्ति मन्त्री ठूलो कुरा होइन,’ उनले भने।

उनले पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएकाले पार्टीको वैधानिकता पाउने जिकिर गरे। आफूले जीवनमा कसैलाई पनि धोका नदिएको मन्त्री थापाको भनाइ थियो। 

बहुमत प्राप्त सरकार हुँदा पनि सही ढंगले सञ्चालन हुन नसक्दा उक्त निर्णय लिएको उनको भनाइ थियो। ‘पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको हो,’ उनले भने, ‘यो राजनीतिक निर्णय हो कानूनी निर्णय होइन, राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई छ।’ 

उनले बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने कुरा गर्नु उनको अधिकार भएकाले अन्तरराष्ट्रियरुपमा नै उक्त निर्णय गलत नहुने बताए। संसद् पुनःस्थापना भने हुनै नसक्नेमा उनको जोड छ। 

निर्वाचनले मात्रै मुलुकमा स्थायित्व र संकटको समाधान गर्ने उल्लेख गर्दै मन्त्री थापाले भने, ‘अन्ततः जनता नै न्यायाधीश भएकाले नागरिकले हामीलाई दण्ड दिन पनि सक्ने र अरुलाई दण्ड दिन पनि सक्ने छन्।’

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्