पूर्व प्रधानन्यायाधीशहरुले भने– प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने संवैधानिक अधिकार छैन
आज पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नभएको दाबी गरेका हुन् ।
काठमाडौं– चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटन गर्ने संवैधानिक अधिकार प्रधानमन्त्रीलाई नरहेको दाबी गरेका छन् । आज पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नभएको दाबी गरेका हुन् ।
पूर्व प्रधानन्यायाधीशहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन भएको पाइएको छ ।’
पूर्व प्रधानन्यायाधीशहरुले कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन नहुने बताएका छन् । त्यस्तै विज्ञप्तिमार्फत संवैधानिक दिशाविहीनताको आयाम सिर्जना हुन सक्नेसमेत संकेत गरिएको छ ।












