आज ७७ वटै जिल्लामा जुलुस, प्रधानमन्त्री ओलीलाई संविधान पठाइँदै
काठमाडौं, पुस २४ : प्रतिनिधिसभा विघटनको विरोधमा आज नेकपाको प्रचण्ड-नेपाल समूहले ७७ वटै जिल्लामा जुलुससहित ज्ञापनपत्र बुझाउन लागेको छ। योसँगै प्रधानमन्त्रीलाई संविधान पठाउने....jpg)
काठमाडौं, पुस २४ : प्रतिनिधिसभा विघटनको विरोधमा आज नेकपाको प्रचण्ड-नेपाल समूहले ७७ वटै जिल्लामा जुलुससहित ज्ञापनपत्र बुझाउन लागेको छ। योसँगै प्रधानमन्त्रीलाई संविधान पठाउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रनितिनिधिसभा विघटन गराएका थिए। त्यसको विरोधमा सबै दल उत्रिएका छन्। नेकपाले पनि आज प्रमुख जिल्ला अधिकारीमार्फत सबै जिल्लामा ज्ञापनपत्र बुझाउन लागेको हो।
नेकपाले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ। त्यही अन्तर्गत आज देशभर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेलले बताए।
नेकपाले जिल्ला प्रशासन कार्यालयमार्फत नै प्रधानमन्त्री ओलीलाई संविधान पठाउने भएको छ। राष्ट्रका नाममा क्षमायाचना गरि गलत कदम सच्याउन माग गर्दै ७७ वटै जिल्लाबाट संविधान पठाउन लागिएको जनाएको छ।
काठमाडौंमा भने जुलुस पनि निकालिने भएको छ। बबरमहलमा जम्मा भएर नेकपा नेता तथा कार्यकर्ता जुलुससहित दिउसो १२ जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुग्ने कार्यक्रम तय गरिएको छ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले त्यससँगै आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति पनि घोषणा गरेकी छिन्।
यसको सबैले विरोध गर्दै आएका छन्। यस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ। जसमा संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।











