अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे बाइडनको जित, संसद् भवनमा भएको आक्रमणको निन्दा
अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकार्दै जो बाइडनको जित स्वीकार गरेका हुन् ।
काठमाडौं, पुस २४ : अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् ।
अमेरिकी संसदमा बुधबार भएको हमलापछि ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएका बेला उनले चुनावमा आफ्नो पराजय स्वीकार्दै जो बाइडनको जित स्वीकार गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । भिडियो सन्देशमा उनले भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021
ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको पनि बताएका छन् । ट्रम्पले बुधबार भएको हिंसात्मक प्रदर्शनको पनि निन्दा गरेका छन् । उनले उक्त आक्रमणलाई जघन्य आक्रमणको संज्ञा दिँदै यस किसिमको आक्रमणले अमेरिकाको प्रजातन्त्रलाई अशुद्ध बनाएको बताएका छन् ।
हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भिडियो सन्देश जारी गर्नअघि दुवै सदनका विपक्षीहरूले उनलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका थिए।
ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ ।











