संसद पुनःस्थापना भएपनि अहिलेको समस्या समाधान हुँदैन : महतो
काठमाडौं, पुस २३ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन्।बिहीबार रिपोर्टर्स क्लब नेपालले...
काठमाडौं, पुस २३ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कामार उनले संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नु पर्ने बताए। संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए।
‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ महतोले भने,‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ।’ देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे।
अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो। उनले भने,‘बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ। त्यसपछि जो सुकै प्रधानमन्त्री भएपनि फरक पर्दैन।’
देशमा मध्यावधि चुनाव हुन्छ भन्ने प्रश्नमा महतोले भने,‘चुनाव प्रतिगमनकारीको धन्दा हो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाइ थियो। ओलीको कदमबाट आश्चर्य मान्नु नपर्ने उनले बताए।
उनले भने,‘प्रतिगमनकारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ।’ यो संविधानअनुसार पटक पटक प्रतिगमन भइरहने निश्चित भएको ठोकुवा गरे।










