२४ खेलाडीलाई मासिक ३ हजार छात्रवृत्ति
छनोटमा परेका २४ खेलाडीलाई छात्रवृत्तिस्वररूप मासिक ३ हजार रकम दिने उनले घोषणा गरे । सेना र प्रहरीका विभागीय टिममासमेत सुदूरपश्चिमका खेलाडीको वर्चस्व रहेको बताउँदै उनले खेलाडी उत्पादनमा प्रशिक्षक र संघको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।.jpg)
महेन्द्रनगर– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सुदूरपश्चिम प्रदेश खेलकुदको ‘पावर हाउस’ भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशले ओलम्पियन र खेलकुदमा थुप्रै स्वर्ण दिनुका साथै देशका लागि खेलाडी उत्पादन गरेको बताउँदै यस प्रदेशलाई राज्यको दृष्टिमा पछाडि पार्न नहुने बताएका छन् ।
आज कञ्चनपुरको महेन्द्रनगरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान् खेलाडी छनोट घोषणा कार्यक्रममा सदस्य सचिव सिलवालले सुदूरपश्चिम भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी र कुस्तीलगायतका खेलको खेलाडी उत्पादनका निम्ति उर्वरभूमि भएको बताए । ‘खेलकुदमा म सुदूरपश्चिमलाई अन्यथा हेर्ने पक्षमा छैन,’ उनले भने, ‘यहाँका खेलाडीको हकहित र खेल संरचना निर्माणमा जोड दिने योजनामा छु ।’
कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि खेल गतिविधि सञ्चालनमा बन्देज लगाउँदै खेलाडीले समस्या भोग्नुपरेपछि पछिल्लो समय सरकारले खेल गतिविधिलाई नियमित गराउन भनिसकेको सदस्य सचिव सिलवालको भनाइ थियो ।
प्रतिभावान् खेलाडी छनोटमा परेका २४ खेलाडीलाई छात्रवृत्तिस्वररूप मासिक ३ हजार रकम दिने उनले घोषणा गरे । सेना र प्रहरीका विभागीय टिममासमेत सुदूरपश्चिमका खेलाडीको वर्चस्व रहेको बताउँदै उनले खेलाडी उत्पादनमा प्रशिक्षक र संघको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।
नेपाल राष्ट्रिय भलिबलका प्रशिक्षक जगदिशप्रसाद भट्टले छनोटमा परेका प्रतिभावान् खेलाडीलाई छात्रवृत्तिसहित भलिबल प्रशिक्षणमा राखिने बताए । उनले कोरोना कहरका बीच भीमदत्त नगरपालिका कार्यालय र विभिन्न संघ÷संस्था र व्यक्तिको सहयोगमा भलिबल प्रशिक्षण केन्द्र स्तरोन्नति भएको बताए ।











