Kathmandu Press

जर्जियामा सिनेटका लागि मंगलबार मतदान, बाइडेनको अग्निपरीक्षा   

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात् ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।    
जर्जियामा सिनेटका लागि मंगलबार मतदान, बाइडेनको अग्निपरीक्षा   

एटलान्टा– अमेरिकाको जर्जिया राज्यमा मंगलबार सिनेटका लागि मतदान हुँदै छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ ।    
    
यस राज्यमा राष्ट्रपति र सिनेट दुवैमा रिपब्लिकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई मतदान गरेको छ ।  अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लिकन र डेमोक्रेट दुवैले सबैभन्दा बढी रकम खर्च गर्दै छन् ।    
    
निर्वाचन अधिकारीहरुका अनुसार मतदान स्थानीय समय अनुसार मंगलबार बिहान ७ बजेदेखि सुरु हुनेछ । यस राज्यमा करिब ३० लाख व्यक्तिले मतदान गरिसकेको निर्वाचन अधिकारीले बताएका छन् । यस राज्यको अन्तिम, आधिकारिक मत परिणाम प्राप्त गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । यस राज्यमा निर्वाचन अभियानको विज्ञापनका लागि मात्र उम्मेदवारले ५० करोड डलर खर्च गरिसकेका छन् ।    
    
रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीका हजारौं स्वयंसेवीले राज्यका सबैजसो घरदैलोमा पुगेर मतदातालाई आफ्नो दललाई समर्थन गर्न आहवान गरिरहेका छन् । चुनावमा आफ्ना समर्थकलाई विजयी गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति निर्वाचित जो बाइडेन दुवै सक्रियतापूर्वक लागेका छन् । 

एटलान्टामा आयोजित चुनावी सभामा बाइडेनले जर्जियाली जनतालाई अर्को चार वर्षका लागि मात्र नभएर अर्को पुस्ताका लागि मतदान गर्न आग्रह गरे । जर्जियामा रिपब्लिकनका तर्फबाट सिनेटर केल्ली लोफलर र डेभिड पर्ड्यु तथा डेमोक्रेट पार्टीका तर्फबाट राफेल वार्नक र जोन ओसोफ प्रतिस्पर्धामा छन् । गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात् ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।    

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्