गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज
पोखरा, पुस २१ : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदै छ। प्रदेश सभाको पहिलो पटक विशेष अधिवेशन बस्न लागेको हो।प्रमुख प्रतिपक्षी...
पोखरा, पुस २१ : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदै छ। पहिलो पटक प्रदेश सभाको विशेष अधिवेशन बस्न लागेको हो।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरेका थिए। उनीहरुको मागको आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन्।
आज दिउसो १ बजे पोखरा सभागृहमा प्रदेश सभा बैठक बस्न लागेको हो। प्रदेश सभा बैठकमा कोरोना भाइरसको महामारीका विषयमा केन्द्रीय भएर छलफल चल्ने भएको छ।
सरकारले कोरोना महामारी नियन्त्रणमा वेवास्ता गरेकाले विशेष अधिवेशन माग गरिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेश सभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार, कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गरेका थिए।
विशेष अधिवेशन आह्वान गरिएको भएपनि गण्डकी प्रदेशमा सरकार फेरबदलको विषय भने नउठ्ने भएको छ। ६० सदस्य प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा बहुमत देखिएको छ।
प्रदेश सभामा सभामुखबाहेक नेकपाका ३९ सदस्य छन्। जसमा ओली पक्षमा २७ र प्रचण्ड(माधव नेपाल पक्षमा १२ जना छन्। त्यस्तै कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य छन्।
प्रचण्ड नेपाल पक्ष कांग्रेस र जसपा मिल्न खाेजेकाे भएपनि जनमाेर्चाले साथ नदिँदा सरकार गठन गर्न बहुमत पुग्दैन। जनमोर्चाले मुख्यमन्त्री गुरुङ नेतृत्वकाे सरकारलाई नै साथ दिएकाे छ।
नेकपा विभाजनले अन्य प्रदेशमा सरकार संकटमा परेपनि गण्डकीका मुख्यमन्त्री गुरुङकाे सरकार सुरक्षित रहेको छ।










-1791199439.jpg)
