Kathmandu Press

बिग बासमा सन्दीप लामिछानेको टोली होबार्ट पराजित

काठमाडौं, पुस २० : अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स पराजित भएको छ। लामिछानेको टोली होबार्ट...
बिग बासमा सन्दीप लामिछानेको टोली होबार्ट पराजित

काठमाडौं, पुस २० : अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स पराजित भएको छ। लामिछानेको टोली होबार्ट सोमबारको खेलमा मेलवर्न स्टार्ससँग १० रनले पराजित भयो।

टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो। 

होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए। यस्तै, डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिए। बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिए। 

यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए। बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिए। 

लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिए।  दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल भएका थिए। उनले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका थिए। लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन दिएका थिए। 

यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिए। यसअघि शुक्रबार बिग बास लिगमा आफ्नो पहिलो खेलमा लामिछानेले दुई विकेट लिएका थिए।
 

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्