३७ हजार स्वाब परीक्षण गरेकी डा. अधिकारीलाई काेराेना
भरतपुर, पुस २० : सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गरेकी डा. नितु अधिकारी अहिले भने आफैँ कोरोना भाइसरबाट संक्रमित भएकी छिन्। भरतपुर अस्पतालद्वारा जेठमा...
भरतपुर, पुस २० : चितवनमा ३७ हजारभन्दा बढी स्वाब परीक्षण गरेकी डा. नितु अधिकारीलाई अहिले आएर भने कोरोना भाइसरकाे संक्रमण देखिएकाे छ।
भरतपुर अस्पतालद्वारा जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा. अधिकारी लामो समय संक्रमणबाट सुरक्षित रहेकी थिइन्।
उनी गत साता संक्रमित भएपछि होम आइसोलेसनमा छिन्। उनीसँगै श्रीमान् र आमासमेत संक्रमित भएका छन्।
संक्रमित भएपछि डा. अधिकारीले भनिन्, 'निकै गाह्रो हुँदो रहेछ।' उनले टाउको, शरीर र छाती दुखेको बताइन।
प्रयोगशालामा दैनिक ६ सयसम्म स्वाब परीक्षण हुने गरेको थियो। सुरुआती समयमा स्वाबको संख्या धेरै भएपछि २४सै घन्टा काम गर्नुपरेको उनले बताइन्।
ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना संक्रमण देखिएको थियो। उनी भने अहिलेसम्म जोगिएकी थिइन्।
भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक अधिकारीले सतर्कता अपनाउँदा पनि सङ्क्रमित हुन पुगेको बताइन्। 'पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ,' डा अधिकारीले भनिन्।
सबैले होसियारीपूर्वक काम गरेको उनले सुनाइन्। 'कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ,'डा अधिकारीले भनिन्।
चितवनमा संक्रमितको संख्या ६ हजार ४१२ जना पुगेको छ। उनीहरुमध्ये एक सय एक जनाको मृत्यु भएको छ। अहिलेसम्म ६ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना संक्रमित भएका छन्। यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन्। (रासस)





