९ महिनापछि मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै स्थानीय उत्साहित
काठमाडौं, पुस १९ : हिन्दू र बौद्ध धर्मावलम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ। कोरोना भाइरसको महामारीसँगै...
काठमाडौं, पुस १९ : हिन्दू र बौद्ध धर्मावलम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ। कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।
अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको रानीपौवा गाउँका पूर्वमुखिया एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए ।
“झण्डै १० महिनायता बन्द मुक्तिनाथ मन्दिर अब खोल्नुपर्छ भन्ने सोचका साथ सर्वपक्षीय भेलाबाट मन्दिर खोल्ने निर्णय गरेका हौँ”, उनले भने, “मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास लिएका छौँ ।” नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् ।
मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ ।










-1791199439.jpg)
