Kathmandu Press

प्रचण्ड र नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुग्यो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, पुस १८ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल  प्रचण्ड र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताएका छन्।शनिबार...
प्रचण्ड र नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुग्यो : उपप्रधानमन्त्री पोखरेल
ईश्वर पोखरेल।

काठमाडौं, पुस १८ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल  प्रचण्ड र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताएका छन्।

शनिबार मजदूर विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए। 

पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे। ‘प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आउनुभएको हो,’उनले भने,‘एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो।’

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए। प्रधानमन्त्री ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ। 

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए।  

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए। उनले प्रतिपक्षले भन्दा पार्टीभित्रबाटै विरोध हुँदा सरकार सञ्चालनमा समस्या सिर्जना भएको बताए। 

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, पुस १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्